दिउँसो ३ बजे मन्त्रीको शपथ, तर विवाद बल्झिँदा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलेन

काठमाडौं । बिहीबार दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने बताइए पनि विवादकै कारण मन्त्रिपरिषद् विस्तार हुन सकेन । त्यसपछि साँझ बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले शुक्रबार दिउँसो ३ बजे मन्त्रीहरूको शपथ गराउने निर्णय गरेका थिए । तर शुक्रबार बिहानसम्म मन्त्रालयको भागबन्डा मिलेको छैन ।

कांग्रेस र माओवादीबाहेकका साना पार्टीहरुले भागबन्डामा चित्त नबुझाएपछि हिजो भएको भनिएको सहमति आजै उल्टिएको हो । संख्याबाहेक विकासे मन्त्रालयमा सबैको आँखा लागेका कारण पनि भागबन्डा मिलाउन सकस परेको नेताहरूको भनाइ छ ।
जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीन मन्त्रालयको अडान छाडेका छैनन् । यसअघि उनीहरुले दुई मन्त्रालयमा चित्त बुझाएको समाचार बाहिर आएको थियो । भागबन्डा नमिलेपछि आज हुने भनिएको मन्त्रीको शपथ अनिश्चित भएको छ । जसकारण प्रधानमन्त्री निवास बालुवाटारमा अहिले गठबन्धन दलका शीर्ष नेताहरु अलग(अलग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।

यसअघि माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, कांग्रेसलाई आठ, जसपा र एकीकृत समाजवादीलाई दुई–दुई र जनमोर्चाबाहेक गठबन्धनका बाँकी घटकहरुलाई एक–एक मन्त्रालय दिनेगरी भागबन्डा मिलेको भनिए पनि असन्तुष्टि बढ्दै गएको थियो । प्रधानमन्त्री प्रचण्डले बिहीबार चितवन पुगेर एक दुई मन्त्रालयबाहेक भागबण्डा मिलिसकेकाले शुक्रबार मन्त्रीको शपथ हुने बताएका थिए । तर जसपा र एकीकृत समाजवादीले आफ्नो अडान नछाडेकाले प्रचण्ड तनावमा परेका छन् ।

माओवादीले प्रधानमन्त्रीसहित विकासे र ठूला मन्त्रालय लिएको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधारबाहेक श्रम मन्त्रालयमा दाबी गरेको छ । तर लोसपाका नेता शरतसिंह भण्डारीले श्रम मन्त्रालय लिएकाले समस्या भएको छ । एकीकृत समाजवादीले गृह मन्त्रालयसमेत दाबी गरेको थियो ।

कांग्रेसमा पनि मन्त्री बन्ने र मन्त्रालयको विषय टुंगो लागिसकेको छैन । बिहीबार कांग्रेसले पाएको मन्त्रालय र मन्त्रीको नामबारे उपसभापति पूर्णबहादुर खड्काले नै आपत्ति जनाएका छन् । उनले पार्टी सभापति देउवाले हस्ताक्षर गरेर नदिएसम्म को मन्त्री बन्ने भन्ने हल्ला मात्र भएको स्पष्ट पारेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *