सरकार र मिटरब्याजी पीडित पक्षबीचको वार्ता आज पनि निष्कर्ष विहीन

काठमाडौं । सरकार र मिटरब्याजीपीडित पक्षबीचको वार्ता शुक्रबार पनि निष्कर्षविहीन बनेको छ ।बिहीबार बिहान गृह मन्त्रालयमा भएको पहिलो वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबारका लागि बैठक सारिएको थियो ।

शुक्रबार बिहानैदेखि गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच दोस्रो चरणको वार्ता थालिएको थियो । तर वार्ता विनानिष्कर्ष शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आज भएको वार्ताबाट आफ्ना माग सम्बोधन हुनेमा सरकार लचक देखिएको पीडितपक्षको दाबी छ ।

मिटरब्याजीपीडितका समस्या समाधानका लागि सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । सोही समितिले वार्ता गरिरहेको छ ।

समितिसमक्ष पीडितपक्षले नौ बुँदे माग राखेका छन् । जसमा उच्चस्तरीय आयोग गठन गरिनु पर्ने, तमसुक व्यवस्था खारेज गरिनुपर्ने र पीडितको पक्षमा कानुन बनाइनु पर्नेलगायत उनीहरूका माग छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही जिल्लाका ७३ जना मिटरब्याजीपीडित पैदलै काठमाडौं आएका थिए ।

चिसोका कारण अहिले पीडितहरू विरामी पर्न थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *