तत्काल प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त गर्न माग गर्दै बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । नेपाल बार एसोसिएसनले तत्काल प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तको सिफारिस गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार बिहान बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वमा गएको बार पदाधिकारीको टोलीले प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । बारले सातदेखि १० दिनभित्र न्यायाधीश नियुक्त नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *