प्रधानमन्त्रीद्वारा मौलाकाली केबलकार उदघाटन

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट–मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको केबलकारको प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताए । केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली केबलकार प्रालिले सञ्चालनमा ल्याएको हो । गैंडाकोट–१ देखि माथि मौलाकाली मन्दिरसम्म एकतर्फी १२ सय मिटर (१.२ किलोमिटर) रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला (डब्बा) रहेका छन् । १२ सय मिटरको दुरीमा रहेको केबलकारमा ६ वटा स्टेसन टावर राखिएको छ ।

खासगरी धार्मिक पर्यटक (तीर्थयात्री हरुकै सुविधाका लागि भनेर केबलकार बनाइएपनि मौलाकाली केबलकार प्रालिले यसलाई मल्टी व्यवसायको रुपमा विकास गर्नेगरि अघि बढेको छ । केबलकारको बेस स्टेसनमा सामान्य होटलसहित टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल निर्माण गर्दैछ । सो होटल निर्माण कार्य अहिले जारी रहेको मौलाकाली केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

६० कोठासहित ४ हजार ५ सय जना अट्ने सभा हलको सुविधासम्पन्न होटलमा स्वीमिङ पुलसहित रुफटपमा हेलिप्याड लेण्डिङ स्टेसन समेत रहनेछ । गर्मी सिजनमा नारायणगढ, भरतपुर र आसपासका क्षेत्रमा अत्यन्त गर्मी हुने हुँदा विकल्पको रुपमा माथि हाइटमा पनि खानबस्न सकिनेगरी होटल निर्माण गरिएको ढकालले बताए । कम्पनीले केबलकारले नयाँ संरचनाको मात्र विकास नगरेर रोजगारीको समेत विकास गरेको बताएको छ । होटलसहितको केबलकारले थप चार सय नयाँ रोजगारीको सिर्जना गरेको कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *