रवि पनि हिन्दु राष्ट्रको पक्षमा, रास्वपाको असलियत खुल्दै

काठमाडौं । सञ्चार क्षेत्र छाडेर एकाएक राजनीतिमा आएर सबैलाई चुनौती दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गुप्त चरित्र विस्तारै खुल्दै छ । दोहोरो नागरिकता र राहदानी प्रकरणले विवादित रविमाथि अझै पनि तरबारको धार काँधमाथि झुन्डिएकै छ ।

सर्वोच्च अदालतले वैशाख २७ गते रविले नेपाली नागरिकता लिनुअघि अमेरिकी दूतावासबाट निस्सा प्राप्त गरेको नगरेको जानकारी दिन पत्र काटेको छ । रविले निस्सा सर्वोच्चलाई बुझाउन बाँकी नै छ । अमेरिकामा नागरिकता त्याग्न सजिलो छैन । कसैको रहरमा नागरिकता त्याग्न मिल्दैन । त्यसैले रविले कस्तो निस्सा पत्र अदालतलाई बुझाउँछन् भन्ने चासो देखिएको छ ।

यदि दोहोरो राहदानी प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय नगरेको भए रवि अहिले जेलमा हुन्थे । उनले सांसद बन्नै पाउँदैनथे । त्यही भएर अहिले रवि त्यति सक्रिय देखिएका छैनन् । पछिल्लो समय रविले नयाँ रणनीति अख्तियार गरेका छन् । उनले धर्म निरपेक्षता हटाउने र हिन्दु राष्ट्रको पक्षमा आफू उभिएको प्रस्ट पारेका छन् । नेपालको चार दिने गुप्त भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीसँग हिमालय होटलमा पुगेरै रविले यस्तो प्रतिबद्धता जनाएको खबर बाहिरिएको छ ।

रास्वपा अध्यक्ष लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु मोदी बसेकै होटल हिमालयमा पुगेर भेटेका थिए । रास्वपा सभापति रविले एक्लै भेटेका थिए। धर्मनिरपेक्षता हटाउने प्रस्तावमा लामिछाने सकारात्मक देखिएको भ्रमण टोलीका सदस्यले बाहिर ल्याएपछि रास्वपामा बबन्डर सुरु भएको छ । रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको समय मिलाइदिए तुरुन्तै दिल्ली आउनेसमेत बताएको बुझिएको छ ।

रास्वपाले आफूलाई कांग्रेस, एमालेको वैकल्पिक शक्ति दाबी गर्दै आएको छ । तर विस्तारै ऊ दक्षिणपन्थी भासमा जाकिँदै गएको छ । प्रदेश संरचना नमान्ने, हिन्दु राष्ट्रको अभियानलाई साथ दिन प्रतिबद्धता जनाउनुले रास्वपा राप्रपाकै बाटोमा हिँड्ने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *