पशुपतिमा जलहरीमा सुनको सट्टा पित्तल लगाइएको हो ? महालेखाले उठाएको प्रश्न


काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको विषयले हंगामा हुँदा संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ र संसद अवरुद्ध भएको छ । बुधबारको संसद्‍ बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको सरकारको पालामा पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाइएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सांसद दाहालले भनेका थिए, ‘उहाँ (ओली) सरकारमा बस्दा कति कति भ्रष्टाचारका काण्डहरु आए । यति, ओम्नी, स्वास्थ्य सामग्रीका भ्रष्टाचार । यति मात्र होइन पशुपतिको जलहरी लगाउँदा पनि सुनको भनेर पित्तल लाएर गरिएका भ्रष्टाचार छन् । दाहालले यस्तो भनेको विषयलाई लिएर शुक्रबारको संसद संसद बैठकको सुरुवातमै एमालेले बिरोध गर्‍यो । संसद सुरु हुनासाथ एमाले सांसदहरु उभिएर बिरोध जनाएका थिए । एमालेले दाहालले माफी माग्नु पर्ने र उक्त अभिव्यक्तिलाई संसदको रेकर्ड हटाउन माग गरेको छ । बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाएको भन्दै आपत्ति जनाए । ‘लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा एमालेको सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भिर आरोप यही सदनमा लगाउनुभएको छ’ उनले भने, ‘यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? के तथ्यमा उभिएर आएको छ रु सत्तापक्षले यसरी मनपरी ढंगले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाउने कुरा कदापी हामीलाई स्वीकार्य हुन सक्दैन। सांसद सुवास नेम्वाङले पनि प्रमुख प्रतिपक्षी दलको नेतामाथि गम्भीर आरोप लगाइएकोले त्यसको जवाफ नआएसम्म संसद चल्न नदिने बताए ।
महालेखाले उठाएको थियो प्रश्न
एमालेले आफ्ना संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्रीमाथि आरोप लगाइएको भनिरहँदा महालेखाको ५९ औं प्रतिवेदनले प्रश्न उठाएको थियो । ओली प्रधानमन्त्री रहँदा २०७७ मा पशुपतिको दर्शन गर्न जाँदा सुनका जलहरी राख्ने घोषणा गरेका थिए । सरकारले ३० करोड रुपैयाँ दिने भन्दै उनले यो घोषणा गरेका थिए । फाल्गुन १२ गते पशुपतिमा ९६ केजीको सुनको जलहरी राखिएको थियो । उक्त जलहरीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनवरण गरेकी थिइन । शुक्रबार एमाले सांसदहरुले विरोध गरेपनि उक्त विषयमा महालेखा परिक्षकको कार्यालयको ५९ औं प्रतिवेदनमा सुनमा हिनामिना भएको हुन सक्ने आशंका गरिएको थियो । तर, यो विषयले कुनै पनि चर्चा पाएको थिएन । शुक्रबार संसदमा एमालेले विरोध गरेसँगै अहिले यो विषय चर्चामा आएको छ ।
के थियो महालेखाको प्रतिवेदनमा
महालेखा परिक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माणमा नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा किनिएको उल्लेख छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्राम समेत प्रयोग गरेर १०७ केजी ९२४.७५ ग्राम सुन कायम भएको भनिएको छ । महालेखाको प्रतिवेदनमा पशुपतिमा निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनको रिङ्ग बनाई जलहरीमा लगाइएको भनिएको छ । रिङ्ग बनाउन प्रयोग भएको भनिएको सुनको मूल्य ७ करोड ९६ लाख ४६ हजार रहेको बताइएको छ । तर, महालेखाले उक्त रिङ्ग निर्माणमा प्रयोग भएको सुन जलहरी बनाइसकेर बाँकी रहेको सम्पूर्ण सुन भएको हुने गरि कुनै पनि विवरण पेश नगरिएको उल्लेख गरेको छ । पशुपति क्षेत्र विकास कोषले जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिणाम रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश नगरेको भन्दै महालेखाले ५९ औं प्रतिवेदमा नै प्रश्न उठाएको थियो । पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन नियमावली, २०४५ का अनुसार दाताहरुबाट प्राप्त चन्दा अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रिय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । तर, जलहरी निर्माणका क्रममा कोषको सञ्चालक परिषद्को बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दाताहरुमार्फत सोझै कालीगणलाई भुक्तानी गर्ने गरि निर्णय गरेको थियो । महालेखाको प्रतिवेदनले जलहरी निर्माणको क्रममा दाताहरुबाट व्योहोरिएको रकमको हिसाबकिताब नै नरहेको पाइएको जनाएको छ । पशुपति विकास कोषले जलहरी निर्माणका क्रममा निर्माण गर्ने कम्पनीसँग भएको सम्झौता र काममा संलग्न रहेका कालीगढहरुलाई दिइएको भुक्तानीको विवरण नै पेस नगरेको भन्दै महालेखाले प्रश्न गरेको थियो । जलहरी शिवलिङ्ग अडिने आधार हो । जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन् । यसअघि चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएपछि झन्डै दुई वर्षको छलफल तथा परामर्शपश्चात् सुनको जलहरी निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *