युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि


काठमाडौं । युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आज जेठ १४ गतेदेखि दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसलगत्तै कम्पनीहरुले बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्ने योजना बनाएका थिए । जुन सफल हुन सकेन र करिब दुई साता लम्बिएको हो । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् भने सीईओ श्रवण रावल नियुक्त हुनेछन् ।

त्यस्तै, युनाइटेड अजोडको सिनियर डीसीईओ कुमार बहादुर खत्री हुनेछन् । उनी अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *