ट्रेडमार्क चोरेको भन्दै पेप्सीको, रेडबुलसहितका कम्पनीको उजुरी


काठमाडौं । नेपालमा विभिन्न वस्तुको उत्पादन गर्ने नेपाली कम्पनीहरुसँगै केही विदेशी कम्पनीहरुले आफ्नो ट्रेडमार्क प्रयोग गरेको भन्दै उद्योग विभागमा ३१ वटा उजुरी परेको छ । विभिन्न कम्पनीहरुले आफ्नो ट्रेडमार्कको दुरुप्रयोग भएको भन्दै विभागमा ३१ वटा उजुरी दिएका थिए । उजुरी परेपछि विभागले विपक्षीलाई ७ दिनभित्र सम्पर्क गर्न भनेको थियो । तर नेपाली कम्पनीहरुले तोकिएको समयमा सम्पर्क नगरेपछि विभागले सोमबार पुनः ७ दिने सूचना प्रकाशित गर्दै विभागको कानुन शाखामा सवुद प्रमाणसहित लिखित प्रतिक्रिया पेस गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय कम्पनीहरुको ट्रेडमार्कको प्रयोग गर्ने नेपालकी कम्पनीहरुमा नाम चलेका कम्पनीहरु समेत रहेका छन् । नेपाल स्न्याक एण्ड फुड, भेरिफुड प्रोडक्ट्स, एलिसा इम्प्लेक्स, सूर्य फुड एण्ड बेभरेजेज, पशुपति थाई बेभरेजेजजस्ता कम्पनीहरुले आफूहरुको ट्रेडमार्क प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय कम्पनीहरुले उजुरी दिएका हुन् ।

विभागमा परेका उजुरीहरुमा अन्तर्राष्ट्रिय कम्पनी अमेरिकाको पेप्सिको आईएनसिले आफ्नो ट्रेडमार्क रहेको उत्पादन लेजको प्रयोग गरेको भन्दै नागार्जुनस्थित नेपाल स्न्याक एण्ड फुडविरुद्ध उजुरी दिएको छ । त्यस्तै, भारतको मुरारीलाल गरिस चन्द्र जैसवाल प्रालिले काठमाडौंस्थित त्रिमुर्ती प्रोडक्ट्स विरुद्ध आफ्नो ट्रेडमार्क रहेको हान्सको प्रयोग गरेकोमा, अमेरिकास्थित पेप्सिको आईएनसिले सुनसरीस्थित पाथिभरा फुड एण्ड प्याकेजिङविरुद्ध आफ्नो ट्रेडमार्कको मोसन ड्यु र लोगो प्रयोग गरेकोमा, स्विट्जरल्याण्डस्थित रेडबुल एजिले पाथिभरा फुड एण्ड प्याकेजिङ उद्योग विरुद्ध आफ्नो ट्रेडमार्कको दुरुपयोग गर्दै रिफिल र लोगो राखेकोमा उजुरी दिएका छन् ।

यस्ता विभिन्न नेपाली कम्पनीहरु विरुद्ध उजुरी परेको छ । सूर्य फुड एण्ड बेचरेजेज प्रालि विरुद्ध २ वटा उजुरी, एलिसा इम्पेक्स प्रालिविरुद्ध ४ वटा उजुरी, रुपन्देहीस्थित हेलि थाइल्याण्ड बेभरेजेज क्यान्स होल्डिङ कम्पनी प्रालिविरुद्ध १ सहित उजुरी परेका छन् । विभागले सोमबार सूचना प्रकाशित गर्दै यसअघि नै सात दिनको म्याद राखी पठाइएको सूचनाअनुसार कुनै लिखित प्रतिक्रिया नआएको र तामेली प्रतिवृदन समेत प्राप्त हुन नआएकाले पुनः सूचना प्रकाशित गरेको जनाएको छ । सोमबार प्रकाशित सूचनाको मितिबाट ७ दिनभित्रमा उजुरी परेका कम्पनीहरुले सवुद प्रमाणसहितको लिखित प्रतिक्रिया बुझाउनुपर्ने र सो नभएमा कानुन बमोजिम कारबाही अघि बढाइने विभागले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *