फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिगमा जाने निश्चित

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिगमा जाने निश्चित भएको छ । खेल पत्रकार फब्रिजियो रोमानोका अनुसार बेन्जमा साउदी प्रो लिगको यस सिजनको विजेता अल इतिहादमा जाने निश्चित भएको हो ।

बेन्जमा अल इतिहादमा दुई सिजनको सम्झौता गर्ने अन्तिम तयारीमा रहेको र उनले सम्झौताको मुख्य अंशमा हस्ताक्षर गरिसकेको रोमानोले दाबि गरेका छन् ।

अल इतिहादले बेन्जमालाई प्रतिसिजन करिब सय मिलियन युरो दिने गरि सम्झौता गरेको मिडिया रिपोर्टमा दाबि गरिएको छ । यद्यपी यस रकमको विषयमा स्वतन्त्र पुष्टि भने भएको छैन । बेन्जमा फ्री-ट्रान्सफरमा साउदी जाने तयारी गरेका हुन् ।

यसअघि पछिल्लो उनले १४ सिजनदेखि खेलिरहेको क्लब रियल म्याड्रिड छोड्ने निर्णय गरेका थिए ।

आइतबार राति सम्पन्न ला लिगाको एथलेटिक क्लबविरुद्धको खेल नै बेन्जमाको रियलमा अन्तिम खेल भएको छ । १-१ गोलको बराबरी भएको सो खेलमा बेन्जमा रियलका लागि अन्तिम गोल गरेका थिए ।

बेन्जमा रियल म्याड्रिडका सफल स्ट्राइकर मध्ये एक हुन् । उनले रियलका लागि अहिलेसम्म ६४८ खेलमा ३५४ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडबाट १४ सिजन खेल्दै चार ला लिगा, पाँच च्याम्पियन्स लिग, तीन कोपा डेल रे, पाँच फिफा क्लब विश्वकप जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएपछि अहिले साउदी क्लबको निशानामा ठुला खेलाडीहरु रहेका छन् । लियोनेल मेसी पनि साउदी क्लब अल हिलाल जाने तयारीमा रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *