आयुष्मान र आशिरमानले गराइदिए आमा विवाह


काठमाडौं । अभिनेताद्धय आयुष्मान देशराज र उनका भाई आशिरमानले आमा तथा सेलिव्रिटी बैंकर रविना देशराजको विवाह गराइदिए । काठमाडौंको एक रिसोर्टमा भएको भव्य वैवाहिक समारोहमा उनीहरुले आमा रविनालाई बेहुलीको सजावटमा मण्डपमा पुर्‍याए ।

रविनाका प्रेमी तथा राष्ट्रसंघीय वन्यजन्तु कोषका कर्मचारीसमेत रहेका स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले जब रविनाको सिउँदो भरे तब उनका दुबै छोराहरु र बुहारी प्रियंका कार्की खुशिले चिच्चाए । उक्त समारोहमा च्यापम्यानकी छोरी पनि उपस्थित थिइन् । केही दिनदेखि यो परिवार वैवाहिक समारोहको खुशियालीमा डुबिरहेको थियो । यो विवाह समारोहमा देशराज परिवार निकट अभिनेत्रीद्धय परमिता राणा र निरिशा बस्नेत पनि उपस्थित थिए ।

रविनाको विवाहकै लागि भनेर परमिता र निरिशा मुम्बईदेखि काठमाडौं आइपुगेका हुन् । बुधबार मात्रै रविनाको घरमा मेहेन्दी समारोह आयोजना गरिएको थियो । झण्डै २० वर्ष लामो बैंकिङ करिअरबाट अवकास लिएकी रविना र च्याप्म्यानले केही महिनाअघि मात्र सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिए । रविनाले प्रशान्त रसाइली निर्देशित फिल्म ‘सोल सिस्टर’मा केमियो भूमिका निर्वाह गरेकी थिइन् । विवाहकै लागि भनेर च्यापम्यान गतसाता छोरीसहित बेलायतबाट नेपाल आएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *