बागमती प्रोस्कूनको आयोजनामा ‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यक्ता’ विषयक गोष्ठी


काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यक्ता’ विषयक गोष्ठी सम्पन्न गरेको छ । प्रोस्कूनले बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्य सम्बन्धी साझा धारणा बनाउने उदेश्यले उक्त गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा बागमती प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघहरुको सहभागितामा रहेको थियो । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा बागमती प्रोस्कूनका प्राविधिक सल्लाहकार, सहकारी विज्ञ डा. शिवजी सापकोटाले सहकारीमा सञ्जाल व्यवस्थापन र सहकार्यको महत्वको वारेमा प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी विश्वमा सहकारी सञ्जाल व्यवस्थापनको असल अभ्यासको विषयमा प्रस्तुतीकरण गर्दै उनले अष्ट्रेलिया र अमेरिकामा बाहेक अन्य देश सहकारीको जिम्मा सरकारले नलिएको बताए । कति संस्था संघमा आवद्ध भए भन्दा पनि कति संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्न सकियो त्यो महत्वपुर्ण भएको उनको भनाई छ । तोकिएको मापदण्ड पुरा गरेका संस्थाको सुरक्षाको प्रत्याभुति प्रोस्कुनले लिन्छ भन्न सक्नु अहिलेको आवश्यकता रहेको समेत उनले औंल्याए । सहकारीका संघ तथा महासंघ मार्गदर्शन र विज्ञप्ति निकाल्ने होडबाजीमा लागेको भन्दै उनले यसले मात्र सहकारीको समस्या समाधान नहुने प्रष्ट पारे ।

अहिलेको आवश्यकता स्फेसिफिक एजेन्डामा छलफल गर्ने र कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय तहमा पहल गर्नु पर्ने उनको भनाई छ । त्यसैगरी बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले बागमती प्रदेशमा सञ्जाल सहकार्य र सञ्जाल व्यवस्थापनको विषयमा निर्धारण गरेको संरचना र सो मार्फत बचत तथा ऋण सहकारीको उदाहरणीय व्यवस्थापनमा संघको परिकल्पनाको विषयमा प्रस्तुतीकरण गरेका थिए। संघका महासचिव जिवसराज खड्काले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन । बागमती प्रोस्कूनले कल्पना गरेको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्यका विषयमा सहभागीहरुबीच खुल्ला छलफल समेत भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *