एमाले, रास्वपा, राप्रपा, जनमतले बजेटको विपक्षमा मत हाल्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको उनले जवाफ दिइरहेका हुन् ।

आजै प्रतिनिधिसभामा बजेट पारितका लागि निर्णयार्थ पेस हुने कार्यतालिका छ । तर बजेट पास नहुने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । किनभने सत्तारुढ दुई जल जसपा र नागरिक उन्मुक्ति पार्टीले बजेटको पक्षमा मत हाल्ने निर्णय गरिसकेका छैनन् ।

अहिलेसम्म नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मात्र बजेटको पक्षमा मत हाल्ने निर्णय गरेका छन् । यी तीन दलसँग १३० सांसद मात्र छन् । बजेट पास हुन १३८ सांसद चाहिन्छ । लोसपाका चार सांसद छन् ।

उसले निर्णय नगरे पनि बजेटको पक्षमा मत हाल्ने विश्वास लिइएको छ । उसले मत दिएमा १३४ सांसद पुग्छ । जसपाका १२ र नागरिक उन्मुक्तिका चार सांसद नखुलेकाले बजेट के हुने भन्ने अन्योल नै छ । यदि जसपा र नागरिक उन्मुक्तिले मत दिएमा सजिलै बजेट पास हुन्छ ।

बजेटको विपक्षमा भोट हाल्ने निर्णय गर्नेमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी छन् । जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताए । यसअघि रास्वपाले पनि बजेटको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *