जलहरीमा कुँदिएको विद्यादेवी भण्डारी, ओलीसहितको नाम हटाइयो

काठमाडौं । पशुपतिनाथको सुनको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओलीसहितको नाम हटाइएको छ । जलहरी पुनस्र्थापन गर्नेक्रममा बिहीबार बिहान साढे ४ बजे सबैको नाम हटाइएको विशेष स्रोतले जानकारी दिएको छ ।

सुनको जलहरीमा सुन घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । जसका लागि जलहरी निकालेर नापतौल गरिएको थियो । जलहरीको सुन नापिसकेपछि पुनस्र्थापना गर्न केही दिन लागेको थियो । भारतबाट रसायनसहितका सामग्री ल्याउन ढिला भएकाले पशुपति क्षेत्र विकास कोषले बिहीबार साँझ ६ बजे मात्र जलहरी पुनस्र्थापना गरेको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए ।

जलहरी पुनस्र्थापना गर्नुअघि कुँदिएका १३ जनाको नाम हटाउने कि नहटाउने भन्ने विषयमा निकै गलफत्ती भएको थियो । कोषका बहुमत पदाधिकारी कुनै पनि हालतमा नाम नहटाउने पक्षमा थिए । तर सर्वसाधारणदेखि सबै जलहरी राष्ट्रको ढुकुटीबाट सुन किनेर हालेकाले व्यक्तिको नाम राख्न नहुने पक्षमा थिए । सोही कारण कोषाध्यक्ष सुवेदीले नै नाम हटाउन लगाएको स्रोतले बतायो ।

त्यति मात्र होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापालगायत नौजनाको नाम पशुपति मन्दिरकै अर्को एउटा ताम्रपत्रमा पनि कुँदिएको थियो । मन्दिरको पूर्वपट्टिको देब्रे भागमा एक फिट बाइ दुई फिटको ताम्रपत्रमा कुँदिएको नामसमेत हटाइएको स्रोतले बतायो । जसमा पशुपतिका भट्ट र भण्डारीहरूको नाम भने उल्लेख थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *