एसईईको नतिजा गत वर्षको व्यवस्थाअनुसार सार्वजनिक गर्ने निर्णय


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।

नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उनले अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागु हुने बताए । उनले भने, कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको छ, अब एसइईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोहीअनुसार नयाँ व्यवस्था लागु हुन्छ । एसइईको नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेकोसमेत शर्माले जानकारी दिए । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *