भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणले निजामती कर्मचारीमा हलचल

काठमाडौं । पछिल्लो समयका दुई चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव नै पक्राउ परे । शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे र ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परे । नेपालमा बहालवाला सचिव नै लगातार पक्राउ परेको यो नै पहिलो घटना हो ।

सचिवलाई निजामती कर्मचारीको विशिष्ट पद मानिन्छ । मन्त्रीपछि मन्त्रालयमा शक्तिशाली मानिने सचिव नै भ्रष्टाचार र ठगीकाण्डमा पक्राउ परेपछि अहिले सिंहदरबारमा कार्यरत सयौं कर्मचारीको सात्तो गएको छ ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार सचिव राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राउतलाई सरकारी जग्गा व्यक्तिको नाममा मोही बनाउँदा फाइल उठाएको आरोपमा पक्राउ परेको हो । जबकि उनी नीतिगत निर्णयको सिकार बनेका छन् । त्यसैले अहिले विभिन्न मन्त्रालय, विभागका अधिकृत, उपसचिव, सहसचिव, सचिव नै नीतिगत निर्णय गर्न हच्किएका छन् ।
सीआईबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पनि पक्राउ गरेको छ ।

समरजंग कम्पनीका प्रमुखको रुपमा घिमिरेले सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी गरेका थिएनन् । नापी अधिकृत अर्याललाई जग्गा नापजाँचमा किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत नौजनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ ।

सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु पनि यस मामिलामा जोडिएका छन् । सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ अनुमति लिएर ललिता निवास जग्गा प्रकरणमा किर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यसअघि २०७८ पुसमा लामो अनुसन्धानपछि सीआईबीले सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर फिर्ता पठाएपछि ललिता निवासको फाइल बन्द भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *