एमालेको पछिपछि हिँडेको आरोपले रवि दुःखी, सरकारको स्थायित्वको पक्षमा रहेको प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ । एमाले वा सो पार्टीका अध्यक्ष केपी ओलीले जे जस्ता एजेन्डा उठाउँछन् त्यसमै हो मा हो भन्नेबाहेक रास्वपाको अर्को भूमिका नदेखिएको विश्लेषण हुन थालेको छ ।

तर प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले एमालेको पछिपछि नलागेको बताएका छन् ।आफ्नो दललाई एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूसँग कुरा गर्दै उनले आफ्नो एजेन्डामा अगाडि बढिरहेको दाबी गरे ।

आफू सरकारको स्थायित्वको पक्षमा रहेको पनि उनले प्रस्टीकरण दिए । वैशाख १० को उपनिर्वाचनयता सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको उल्लेख गर्दै लामिछानेले तत्काल सरकारमा सहभागी हुने योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नचलाएको बताए ।

‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ, त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौं,’ उनले भने, ‘हामी स्थायित्वका पक्षमा छौं । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौं र जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।’

संसद् र बाहिर पनि रास्वपाले आफ्ना एजेन्डामा नै अघि बढ्ने लामिछानेको भनाइ थियो । उनले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताए । पुराना पार्टीहरूसँग विभिन्न चरणमा सहकार्य गर्दा उनीहरूसँगै गएको आरोप लागेको भन्दै उनले आफ्नो निर्णयमा चलिरहेको प्रष्ट पारे ।

‘पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको अति नै कम दल छन् । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो । त्यो अनुसार गयौं । सरकारमा बस्न सकुन्जेल बस्यौं ।

जब त्यो सहमति टुट्यो त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन,’ उनले थपे, ‘प्रतिपक्षमा एमाले ठूलो दल होला, तर हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि हौं ।’

प्रतिपक्षको बेन्चमा सँगै हुँदा जनजीविकाका साझा मुद्दामा एमालेसँग कुरा मिल्न जाने तर एमालेको पछि रास्वपा नलागेको लामिछानेको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *