सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको जनाएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको जनाएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे । उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिए । मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको जनाए ।

‘यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडि बढिरहेको छ ।’

उनले मन्त्रालयले दिएको ससर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिनेसमेत जनाए । उनले भने ‘संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यलाई प्रभावकारी गराउनको लागि अन्तरतह समन्वय कार्यक्रम सञ्चालन गर्ने र मन्त्रालयबाट सञ्चालित कार्यक्रम तथा प्रवाह गरिएको ससर्त अनुदानको प्रभावकारिता सम्बन्धमा अनुगमन गर्न अन्तरमन्त्रालय एकीकृत अनुगमनको कार्यक्रम रहेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *