काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि विमान बंगलादेशको उडान नम्बर ३७१ को विमानबाट काठमाडौं आएका हुन्। नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले लूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

लू विमानस्थलबाट एमसीसी कार्यालय बालुवाटारतर्फ प्रस्थान गरेका छन्। नेपाल भ्रमणका क्रममा मन्त्री लूले नेपाल सरकारका अधिकारी तथा मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जान लागेको पूर्वसन्ध्यामा लू नेपाल आइपुगेका हुन्।

संसद्ले अनुमोदन गरेको करिब १८ महिनापछि भदौबाट एमसीसी कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब नेपाली रुपैयाँ अनुदान दिनेछ।

नेपालले एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ।

एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उक्त रकम, सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण खरिद,सवारीसाधन खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालका एक सदस्यले जानकारी दिए।

नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। लूले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट्ने नेपालस्थित अमेरिकाको राजदूतावासले जनाएको छ।

२०७९ असारमा नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पाटर्नरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लू नेपाल आएका थिए। २०७९ साउन १२ गते पनि तीन दिनका लागि नेपाल आएका थिए। नेपालमा ऊर्जा र पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गराउनु केही महिनाअघि पनि लू नेपाल आएका थिए।

सहायक विदेशमन्त्री लू दक्षिण तथा मध्य एसिया मामिलामा दक्खल राख्ने अमेरिकी कूटनीतिज्ञका रूपमा पनि परिचित छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *