डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ


काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ भव्यरुपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकार द्वय सौँन्दर्या पानापिल र शशि रमेशले बेजोड प्रस्तुती दिएका थिए । डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यमिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम प्रशिक्षक द्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरूसँगै प्रस्तुत भएका थिए । कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए ।उक्त साँस्कृतिक साँझ सुशीला आर्ट्स एकेडेमी काठमाडौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौं र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन् । सुशीला आर्ट्स एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिँदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन् । त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा।आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशीला आर्टस एकेडेमी र डिएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफु निकै हर्षित भएको बताइन् । उनले सम्पूर्ण विद्यार्थीहरूलाई भरतनाट्यम विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशिल रहन प्रेरित समेत गरिन् । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन् ।

कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनिषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशीला कोइरालाको स्मरण गर्दै भावुक बनिन । उनले स–साना बालबालिकाहरूको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै सुशीला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना दिइन् । कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोद कुमार प्रिन्सिपल केन्द्रिय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थित रहेको थियो । सोही अवसरमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । निम्न माध्यमिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्यरुपमा सम्पन्न गराउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *