सूर्य प्रसादलाई संस्थापक नेता पुनर्स्थापित गर्न अर्जुन नरसिंह केसीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले स्वर्गीय सूर्य प्रसाद उपाध्यायलाई पार्टीको संस्थापक नेतामा पुनर्स्थापित गर्न प्रस्ताव राखेका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले इतिहासलाई मेट्न नमिल्ने बताए ।

यो वर्ष क्यालेण्डर बनाएरै कांग्रेस स्थापनाको हीरक जयन्ति मनाउन आग्रह गर्दै केसीले यही हीरक जयन्तीबाटै सूर्य प्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने बताए ।

२००३ सालमा प्रजातन्त्र कांग्रेस स्थापना हुँदाका संस्थापक नेता उपाध्यायलाई कांग्रेसले आफ्ना संस्थापक नेताका रूपमा राख्ने गरेको छैन । बिपी कोइराला,सुवर्ण शमशेरहरूजस्तै सूर्य प्रसादलाई पनि संस्थापकमा राख्न केसीले माग गरेका हुन् ।

जारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा अर्जुननरसिंह केसीले ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। आइतबार पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता केसीले ललिता र भुटानी शरणार्थीजस्ता काण्डमा मौन हुँदा पार्टी क्षतिग्रस्त हुने बताए।

‘ अर्थतन्त्रमा नै गम्भीर क्षति पुर्‍याइरहेका आजसम्मका भ्रष्टाचार काण्डहरू उपर सर्वोच्च शक्तिसम्पन्न न्यायिक आयोग गठन गर्न र हाम्रै नेतृत्वको सरकारले गरोस् भन्ने प्रस्ताव राखेको थिएँ । आज हामी नै किन भ्रष्टाचारको संरक्षक जस्ता आरोप खेप्नुपर्ने विवशतामा पुग्यौं ? यसको विरुद्ध आन्दोलनको नेतृत्व काँग्रेसले नै गर्नुपर्छ,’उनले भने,’ ललितानिवास र नक्कली भूटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौं ।’

नेता केसीले त्रिभुवन विमानस्थलबाट रहस्यमय रुपले एक क्विन्टल सुन बरामदले कौतुहलमय सनसनी उब्जेको बताए। उनले सो प्रकरणमा भरियालाई मात्रै नभएर यसको पछाडि रहेका शक्तिकेन्द्रको पनि खोजि गरिनुपर्ने माग गरे।

उनले भने,’विमानस्थलबाट रहस्यमय रुपले एक क्विन्टल सुन बरामदले कौतुहलमय सनसनी उब्जेको छ। यसका भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् । भनाई छ, पछाडि फर्केर हेरे अनुभव पाईन्छ, अगाडि हेरे आसा देखिन्छ,वरिपरि हेरे यथार्थ पाइन्छ,अनि स्वयंभित्र हेरे आफैलाई पाइन्छ । ‘

काङ्ग्रेसले आफूभित्र युगानुकूल सुधार गर्न र मुलुकको लोकतान्त्रिक राष्ट्रिय शक्तिको हैसियत कायम राख्न नीतिगत स्पष्टताका साथ रुपान्तरण,शुद्धीकरण र सुदृढीकरणको देशव्यापी अभियान चलाउनु अनिवार्य रहेको उनको भनाइ छ।

‘हाम्रा निर्वाचित गाउँ/नगरपालिका, प्रदेश र केन्द्रीय सरकारसँग समन्वय र सन्तुलन, क्रियाशील र सशक्त बनाउन नीतिगत मार्गनिर्देशनको लागि अभिमुखीकरण, जनसरोकार र पार्टी सरोकारका विषय स्थापित गर्दै भ्रष्टाचार र दण्डहिनताको अन्त्य गरी सुशासन स्थापित गर्न केन्द्रीय तहबाटै परिचालन तथा समन्वय समिति गठन गर्नु अनिवार्य छ,’उनले भने।

उनले एक वर्षको अवधिमा मुलुकमा धेरैवटा गम्भीर घटना र परिस्थिति उत्पन्न भएको र संस्थागत रुपमा केन्द्रीय कार्यसमितिको कुनै निश्चित निर्णय र भूमिका हुन नसकेको बताए।

नेता केसीले पार्टीका हरेक गतिविधिमा कार्यकर्ता र आमजनतासँग केन्द्रीय समितिलाई जोड्ने उद्देश्यले कार्यसमितिको बैठकलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए।

बैठकमा केसीले प्रस्तुत गरेकाे विचार पूर्णपाठ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *