चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ ।

श्रीलंकाको भ्रमण सकेर टोली काठमाडौं आएको हुन् । केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जियान नेतृत्वको २५ सदस्यीय टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछ । टोलीले कार्यबाहक प्रधानमन्त्री नारायणकाजी श्रेष्ठल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ । निकट भविष्यमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा चिनियाँ नेताहरू काठमाडौं आएका हुन् ।

सीपीसीका नेताहरू निरन्तर काठमाडौं–बेइजिङ आवतजावत गरिरहेका छन् । राजनीतिक संवाद बाक्लो बनाउने नीतिमा देखिएको सीपीसी काठमाडौंमा प्रमुख दलका नेताहरूसँग निरन्तर संवादमा देखिन्छ । गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कँदै गर्दा माओवादी नेताहरूको एउटा टोली बेइजिङ थियो । उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा केही पदाधिकारीसहित ठूलो टोली बेइजिङ गएको थियो ।

यसैबीच चिनियाँ नेताहरूको टोली काठमाडौं आउन लागेकै दिन माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमण गर्दै छ । प्रधानमन्त्री प्रचण्ड शनिबार नै इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *