सरकारले ऋण लिएर भए पनि हाम्रो पैसा दिनुपर्छ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्तिपछि अध्यक्ष सिंहले सरकारले अपनत्व लिन्न भन्न नपाउने बताएका हुन् ।

अध्यक्ष सिंहले अर्थमन्त्री डा. महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताएका थिए । उनले सरकारले निर्माण कार्य सकेका आयोजनाको भुक्तानी तत्काल व्यवस्था गर्नु पर्ने उनको भनाइ थियो ।

उनले सरकारले ऋण उठाएर, अनुदान मागेर, वैदेशिक ऋण लिएर वा र आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीले पाउनु पर्ने भुक्तानीको सुनिश्चिता गर्नु पर्ने बताए । उनले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने तीन हजार आयोजनाको चार खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए ।

‘मुलुकमा समस्या छ, सरकारले अहिले म्याद थप गर्ने तीन हजार आयोजनाको चार खर्ब रुपैयाँ भुक्तानी गर्न सक्दैन, यो कुरा स्वीकार गर्नु भएको छ,’ उनले भने, ‘विगतमा काम गरिसकेको ५० अर्बको भुक्तानी र एक वर्षमा म्याद थप गर्दै गरेको चार खर्ब योजनाको भुक्तानी ऋण उठाउँछौँ, अनुदान माग्छौँ, वैदेशिक ऋण ल्याउँछौँ र आन्तरिक ऋण उठाउँछौँ जसरी उठाउनुहुन्छ उहाँहरूले त्यो भुक्तानीको सुनिश्चिता गर्नु पर्छ, यदि सरकारले त्यसो गर्न सक्नुहुन्न भने त्यो आयोजनालाई खारेज गर्नु पर्छ ।’

उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने बताए । उनले निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवासायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने दाबी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *