ललिता निवास प्रकरण : थुनछेक बहस अन्तिम चरणमा

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछ ।

सरकारी वकिलको बहस आज सकियो भने आजै थुनछेक आदेश आउने सुचना अधिकारी दाहालले बताए । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए । बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *