लमजुङका २ जनालाई बलात्कार अभियोगमा १२ वर्ष कैद सजाय

लमजुङ । छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकास थापालार्इ लमजुङ जिल्ला अदालतले १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।

तिनै बालिकालाई बलात्कार गरेको भनि परेको अर्को मुद्दामा सोही ठाउँका अर्जुन विक्रम थापालार्इ पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेको छ । छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

२०७७ माघमा भएको बलत्कारको घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाको वडा नंं ९ मा रहेको भैरब माविका शिक्षक प्रकास थापालाई पहिलोपटक पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकोमा दबाबमा बालिकाले आरोप झुटो रहेको बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे । उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए ।

पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएको ठहर गरी बाल अधिकारकर्मीहरूको सहयोगमा मनोविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदौ १ मा ती बालिकाले प्रकास थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

सो क्रममा ती बालिकाले आफूलाइ राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाइ पक्राउ गरेको थियो ।

प्रहरीले पीडित बालिकाको किटानी जाहेरीका आधारमा दुवै आरोपीविरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेको थियो । लमजुङ जिल्ला अदालतको फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *