सन्दीप लामिछाने मुद्दा : स्थगितको सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ ।

न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । ४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौं जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित रहेका थिए । सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार फेरि स्थगितमा परेको हो । गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो । आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो ।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् । जन्म दर्ता रहेको आधिकारिक निकायबाट आएको जन्म मितिमा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर्ष तीन महिना रहेको दाबी गरिएको छ ।

नुवाकोटको एक स्थानीय तहमा पेश गरिएको किशोरीको जन्ममिति सम्बन्धी कागजातमा उनको जन्म मिति २०६१ असार १८ गते रहेको सन्दीपक्षका कानुन व्यवसायीले दाबी गरेका छन् । आरोपित पक्षले बलात्कार भयो भनिएको मितिमा बलात्कार भयो कि भएन भनेर वकालत गर्नुभन्दा तत्कालीन समयमा किशोरीको उमेर पुगिसकेको दलिल पेश गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ ।

असोज १ गतेका लागि पेशी तोकी अन्तिम सुनुवाइ भनेपनि न्यायाधीशको अभावका कारण उक्त मुद्दा स्थगितको सूचीमा परेको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला तान्दा सन्दीपको मुद्दा रहेको २८ नम्बर फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि उनको मुद्दा स्थगितको सूचीमा परेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *