नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला ‘नेपाल इन्टरनेसनल ट्रेड फेयर’ यस वर्ष मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ । महासंघ सचिवालयले काठमाडौंको भृकुटीमण्डपमा उक्त व्यापार मेला आयोजना हुने जानकारी दिइएको हो । उक्त मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको बताइएको छ । यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको बताइएको छ । यो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नवौँ संस्करण हो । मेलाले नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने पनि बताइएको छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ । मेलामा भारतको इन्डियन चेम्बर अफ कमर्स र नेपालको नेपाल हब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी बस्तुहरुको प्रर्दशनी एवं प्रवचन कार्यक्रम समेत हुनेछ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा ‘मेड इन नेपाल सो’ हस्तकला उत्पादनहरू रहनेछन् ।

मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइने छ । मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । आजदेखि स्टल बुकिङ खुल्ला गरिएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गरे । मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुुग्ने धारणा अध्यक्ष ढकालको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *