मलेसियालाई ६ विकेटले हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं । जारी आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कुशल मल्लले अर्धशतकिय पारी खेले । उनले ३४ बलमा २ चौका र ७ छक्काको मद्धतमा ६५ रनको योगदान गरे । राम्रो सुरुवात दिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा क्याच आउट भए । शेखले ३२ रनको योगदान गरे ।

कप्तान रोहित पौडेलले २ रन, सन्दीप जोराले १८ रन र विवेक यादवले २ रन बनाए । मलेसियाका लागि मोहम्मद अमिरले तिन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *