नाडा अध्यक्षमा चार जना आकांक्षी


काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्ष पदका लागि अटोमोबाइल्स व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिने आकांक्षा व्यक्त गरिरहेका छन् । नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरीले र वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवार बनेर चौधरी पराजित भएका थिए । आकांक्षीहरूले अध्यक्ष पदमा सर्वसम्मतको प्रयास भइरहेको पनि बताएका छन् ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ पनि सर्वसम्मतको पक्षमै छन् । श्रेष्ठ र प्रतिस्पर्धी करण चौधरीबीच सहकार्य हुन सक्ने सम्भावना देखिएको छ । त्यो विषयको स्वीकार स्वयम् श्रेष्ठ पनि गर्छन् । ‘हाम्रो टिम नेतृत्वमा रहेर राम्रो काम गर्न सक्छ, यदि चुनाव नै हुने भयो र करण अध्यक्षमा उठ्नु भयो भने म छाड्छु, म उम्मेदवार भएँ भने उहाँले छाड्न सक्नु हुन्छ, निर्णय चाहिँ बाँकी छ ।

वर्तमान नाडाका उप–सभापति समेत रहेका श्रेष्ठले अटो क्षेत्र नै समस्यामा परेको बेला चुनाव गर्नु उपर्युक्त नहुने धारणा राखे । अर्का उम्मेदवार प्रकाश कपुरी पनि आफ्नो जित निश्चित भएर नै मैदानमा होमिएको बताउँछन् । कपुरी भने चुनावी प्रक्रियामै अगाडि बढ्नुु पर्ने धारणा राख्छन् । ‘सर्वसम्मत भए मलाई अध्यक्ष छाडिदिनु पर्छ, होइन भने चुनाव गर्नुपर्छ,’ उनी भन्छन्, ‘चुनाव भयो भने म जित्नेमा विश्वस्त छु । नाडाका अध्यक्ष ध्रुब थापा सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने बताउँछन् । ‘उहाँहरू मिल्नुभयो भने सर्वसम्मतरूपमा एक जना अध्यक्ष बन्नुहुन्छ, मिल्नु भएन भने चुनाव हुन्छ तर, यस्तो समयमा चुनाव हुनु हुन्न भन्ने पक्षमा म छु । निर्वाचन भए कडा प्रतिस्पर्धा हुने थापाको भनाइ छ । नाडाको निर्वाचन भएमा अध्यक्षहरूको छुट्टाछुट्टै प्यानल हुने सम्भावना देखिन्छ । थापा नाडाको विकासको लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्छन् । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । हालसम्म अध्यक्षको उम्मेदवारको चर्चा भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको भने टुङ्गो लागेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *