देशको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । भारतीय बजारलाई समेत लक्षित गर्दै सुनसरीको इनरुवामा निर्माण गरिएको ४०० केभी क्षमताको सशस्टेशनबाट विद्युत वितरण सुरु गरिएको छ ।

पूर्वी नेपालमा हुने विद्युत आपूर्तिलाई गुणस्तरीय र भरपर्दो तुल्याउन निर्मित इनरूवा सवस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । प्रधानमन्त्रीद्वारा औपचारिक उद्घाटनसँगै पूर्वकै ठूलामध्येको एक इनरूवा सवस्टेसन चालु भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित यो सबस्टेसन पूर्वको विद्युत वितरणका लागि बहुप्रतिक्षित संरचना हो । इनरूवा सवस्टेसन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गरिने र त्यस्तो सुनौलो दिन छिट्टै आउने छ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्नमात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले विद्युत बेचेरै विदेशी मुद्रा आर्जन गर्ने तहमा मुलुक पुगेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नदीबाट विद्युत उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पु¥याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको छ ।’ उनले वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा भएको बताए ।

वितरण सुरु गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘यो ठूलो सवस्टेसन हो । ४०० बाई २२० बाई १३२ को यो सवस्टेसनले पूर्वको विद्युत आपूर्ति र वितरणलाई गुणस्तरीय र भरपर्दो तुल्याउनेछ ।’ उनका अनुसार पूर्वी नेपालमा विद्युतका अरू ठूला–ठ्रूला पावर हाउसहरू छन् । अब सबैतिरबाट विद्युतीय शक्ति इनरूवा आउनेछ ।

प्राधिकरणका अनुसार सुनसरी र मोरङका औद्योगिक करिडोर र कटहरी–रंगेली औद्योगिक करिडोरहरुमा विद्युतको माग धेरै छ । त्यसबाहेक इनरूवा र आसपासका क्षेत्रमा पनि उद्योगधन्दा र बस्ती बढ्ने क्रममा छ ।

इनरूवा सवस्टेसन सञ्चालन भएपछि पूर्वमा २४सै घन्टा भरपर्दो विद्युत आपूर्ति गर्न समस्या नहने प्रवक्ता भट्टराईले बताए । उनले आन्तरिक आपूर्तिले पुग्ने अवस्था भएपछि उहीँबाट भारतको बिहार पठाउने लक्ष्य पनि प्राधिकरणको छ । प्राधिकरणका अनुसार यो सवस्टेसनमा ४ सय केभी क्षमताको विद्युत विभिन्न माध्यमबाट आउनेछ । त्यसलाई २२० केभीमा झारिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *