भोलिदेखि कांग्रेस केन्द्रीय समिति बैठक,मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको गुनासो


काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरू हुने जानकारी दिए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्। मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो। कांग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउने छन्। साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले महासमिति बैठक पटक(पटक सार्दै आएको छ। फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय भएको थियो। २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो।

नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्न लागिएको हो।विधानमा महाधिवेशन भएका वर्षबाहेक अरू वर्ष कम्तीमा एक पटक महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ। तर १४ औं महाधिवेशनपछि कांग्रेसले एक पटक पनि महासमिति बैठक गरेको छैन। साथै माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको तयारीबारे पनि कांग्रेसले केन्द्रीय समितिमा छलफल गर्ने भएको छ। १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा चुनावमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गर्ने बताइसकेको छ। राष्ट्रिय सभा अध्यक्षसमेत लिने गरी कांग्रेसले चुनावी तालमेल गर्ने गृहकार्य गरेको छ। राष्ट्रिय सभा अध्यक्षका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ लगायतको चर्चा छ। कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई राष्ट्रिय सभा सदस्य चुनावका लागि आकांक्षीहरूका नाम पठाउन आग्रह गरे अनुसार प्रदेशहरूले जिल्लाबाट नाम माग गरी केन्द्रमा पठाउन थालेका छन्। यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसभित्र पटकपटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभा उम्मेदवार बनाउन नहुने माग पनि उठेको छ। संस्थापनइतर समूहले उम्मेदवार तय गर्दा निश्चित मापदण्ड बनाउन सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पनि गराएका छन
सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच धुम्बाराहीमा छलफल भएको छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका एजेन्डाबारे बैठकमा कुराकानी भएको छ। ‘सभापतिज्यू र महामन्त्रीहरूबीच छलफल भएको हो, केन्द्रीय समितिका एजेन्डाबारे कुरा भएको छ, एक नेताले भने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *