कांग्रेसले केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरू

ललितपुर । ललितपुरको सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारदेखि सुरू भएको छ। संघीय सरकारमा सामेल मन्त्रीहरूले पार्टीसँग समन्वय नगरी कामकारबाही गरेको गुनासा आएपछि मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न यसपालि केन्द्रीय समिति बैठक राखिएको छ। गत साउन २ मा कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक पार्टीको फेसबुकबाट लाइभ गरेको थियो। त्यसपछि असोजमा बसेको बैठक पनि लाइभ भएकोमा बिहीबारदेखि सुरू बैठक भने लाइभ गरिएको छैन। कांग्रेस पनि सामेल भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ। संघीय सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्। यी मन्त्रीका कामकारबाहीबारे समीक्षा गरिने केन्द्रीय समिति बैठक कांग्रेसले लाइभ नगरेको हो। ‘हाम्रा मन्त्रीहरूले प्रभावकारी र जनपक्षिय काम गर्न सक्नुभएको छैन। बजेट बनाउने बेला होस् वा अरू बेला, मन्त्रीले सांसदका कुरा सुन्दैनन्, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यका सुझाव पनि लिँदैनन्,’ एक केन्द्रीय सदस्यले भने, ‘पार्टी सरकारमा छ भन्ने कांग्रेसी नेता, कार्यकर्ताले महसुस गर्न पाएका छैनन्। मन्त्रीले काम नगर्ने, केन्द्रीय सदस्यले किन काम नगरेको भनेर सोध्दा सवालजवाफ हुन्छ नै, यस्तो बैठकले जनतामा राम्रो सन्देश दिँदैन भनेर लाइभ नगरिएको हुनुपर्छ। केन्द्रीय समिति बैठक लाइभ रोकिएकोबारे सोधिएका प्रश्नमा नेताहरूले गोलमटोल जवाफ दिएका छन्। केन्द्रीय समिति लाइभ सुरू गर्दा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा पारदर्शीता ल्याउने जमर्को गरेको भन्दै सभापति शेरबहादुर देउवाको कदमको प्रशंसा गरेका थिए। साथै अबदेखि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरिने कांग्रेसको भनाइ थियो। तर बिहीबार बैठक लाइभ नगरिएकोमा कसैले आवाज उठाएनन्। ‘बैठक लाइभ नगरेकोमा बरू केन्द्रीय सदस्यहरू खुसी भए,’ एक केन्द्रीय सदस्यले भने। केन्द्रीय सदस्य डिला संग्रौलाले बैठक लाइभ नहुँदा आफूहरूका कुरा जनतामाझ सुनाउन नपाएको बताइन्। ‘आज पनि बैठक लाइभ हुन्छ भनेर हामी मख्ख परेर आएका थियौं तर बैठक लाइभ रहेनछ,’ बैठकपछि उनले पत्रकारहरूसँग भनिन्, ‘हाम्रा कुरा जनतासमक्ष पुगुन् भन्ने थियो। दुई महिनापछि केन्द्रीय समितिमा बोल्न पाइन्छ, बोलेका कुरा जनतामा पुगोस् भन्ने लाग्छ। पत्रकारहरूको प्रश्नमा केन्द्रीय सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्राविधिक कुराले बैठक प्रत्यक्ष प्रसारण गर्न नसकिएको बताए। ‘संयोगवश लाइभ गर्ने साथी बाहिर हुनु हुँदो रहेछ, आजको बैठकमा अन्तिम अन्तिम चरणमा मात्रै उहाँ आइपुग्नेजस्तो भएपछि केन्द्रीय समिति यसपालि लाइभ नगर्दा पनि हुन्छ, अर्को पटकदेखि गर्ने भन्ने कुरा भयो, विश्वकर्माले भने। अब केन्द्रीय समिति बैठक चलेको हलभित्र के के कुरा भयो भन्ने चर्चा गरौं। केन्द्रीय समिति बैठक सुरू हुँदा बिहीबार दिउँसो २ बज्दै थियो। सभापति शेरबहादुर देउवाले बैठक सुरू भएको घोषणा गर्दै महामन्त्री विश्वप्रकाश शर्मालाई एजेन्डा राख्न समय दिए। महामन्त्री शर्माले फटाफट एजेन्डा पेश गरे। महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेसः मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाए।

यसपछि सभापति देउवाले अर्का महामन्त्री गगन थापालाई केही कुरा राख्न समय दिए। महामन्त्री थापाले फागुन ७ ,१० महासमिति बैठक तयारी, फागुन १६ १७ सुवर्णशम्शेर आर्थिक सम्मेलन, डिजिटल कांग्रेस बनाउने काम अन्तिम चरणमा पुगेको, पुस्तकालय निर्माणलगायत विषयमा कुरा राखेका थिए। समुदायमा कांग्रेस अभियानमा जुन तहमा समस्या भेटिन्छन् त्यही तहमा समाधान गर्ने गरी अघि बढ्नुपर्ने थापाले बताए। ‘सरकारमा रहेका मन्त्रीहरूले गरेका राम्रा कामलाई तलैसम्म लिएर जाने, समुदायमा सद्भाव बढाउने कुरालाई पनि सँगै लैजानुपर्छ,’ महमन्त्री थापाले भनेका थिए। माघ १२ गते पार्टी स्थापना दिवस वडा तहमा मनाउने र त्यसका लागि सबै नेताहरू आफू मतदाता रहेको वडाका कार्यक्रममा जानुपर्ने विषय थापाले राखेका छन्। १७ जिल्लामा पार्टीभित्र आन्तरिक बिबाद देखिएकोले समुदायमा कांग्रेस अभियानका बेला केन्द्रीय पदाधिकारी नै यी जिल्लामा खटिएर समस्याको समाधान खोज्नुपर्ने उनले बताएका थिए । भ्रातृ संस्थाका महाधिवेशनबारे पनि छलफल गरी पार्टीले निर्णय लिनुपर्ने महामन्त्री थापाले बताएका थिए। नेविसंघ, तरूण दललगायतमा महाधिवेशनको टुंगो छैन, कांग्रेसले तदर्थ समिति बनाउँदै आएको छ। ‘तदर्थ समिति कहिलेसम्म बनाइराख्ने र म्याद थपिराख्ने ? भ्रातृ संस्थाका महाधिवेशनबारे छलफल गरौं र उचित निर्णय लिऔं, महामन्त्री थापाले भने। यसपछि सभापति देउवाले केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई बोल्न समय दिए। मन्त्री बस्नेतले आठ सय डाक्टरहरूको काज फिर्ता गर्दा दुर्गममा मानिसले सेवा पाउने अवस्था बनेको बताए। स्वास्थ्य क्षेत्रमा मुलुकमा ९२ हजार दरबन्दी चाहिए पनि अहिले ३० हजार दरबन्दी रहेको उनको भनाइ छ। स्वास्थ्य बीमासम्बन्धमा जहाँ समस्या थियो त्यो हल गर्ने काम भएको उनले बताएका थिए। सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्ने भन्दै मन्त्रीहरू सानेपाबाट निस्किए। सभापति देउवाले बाँकी आठ जना मन्त्रीले शुक्रबारको बैठकमा लिखित रूपमा प्रस्तुती दिने जानकारी गराउँदै केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिए। केन्द्रीय सदस्य डिला संग्रौलाले राष्ट्रिय सभा निर्वाचनको प्रसंग झिकेकी थिइन्। ‘राष्ट्रिय सभामा पार्टीले उम्मेदवार छनोट गर्दा न्यायको सिद्धान्तअनुसार हुने गरी मापदण्ड बनाइयोस्,’ उनले भनिन्, ‘सरकारका कामको जस लिन पाइयोस्। सहमहामन्त्री जीवन परियारले भूकम्पपछि कांग्रेसले गरेका कामका बारेमा रिपोर्ट नै पेश गरेका थिए। उनले कांग्रेस र भ्रातृ संस्थाले जाजरकोट र रूकुम पश्चिममा पुगेर श्रमदान गरी बनाएका टहराका तथ्यांकसमेत पेश गरेका थिए। केन्द्रीय सदस्य दीपक गिरीले पार्टीले सुरू गर्न लागेको समुदायमा कांग्रेस अभियानजस्तो संसदमा पनि कांग्रेसको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। ‘संसदमा कांग्रेस प्रभावकारी ढंगले पेश हुन सकिरहेको छैन, उनले भने, ‘एनसेल र टेरामक्सका नाममा आक्रमण जारी छ, यो गम्भीर छ। उनले सहकारीका नाममा ठगीका कुरा आइरहेकोले त्यस विषयमा भण्डाफोर गरिनुपर्ने बताए। ‘राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा सबैलाई समेट्ने गरी मापदण्ड बनाइयोस् । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन संकेत गरेको प्रसंग निकाले। ‘मन्त्रीहरूले राम्रो काम गरे राख्ने नत्र हटाउने प्रधानमन्त्रीको कुरा छ,’ उनले भने, ‘हाम्रा मन्त्रीहरूले के काम गरिरहनुभएको छ पहिले त्यो सुन्न पाएको भए धारणा राख्न सजिलो हुने थियो। सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, नराम्रा कामको प्रचार रोक्ने मेरो काम हो तर रोक्न सकिएन। उनले सामाजिक सञ्जालमा कांग्रेसकै मानिसले सरकार र मन्त्रीहरूका कामकारबाहीबारे ुकमेन्टु गर्ने गरेको पनि बताए। ‘चुनावका बागी र विद्रोहीलाई त कारबाही गर्न सकिएको छैन, सामाजिक सञ्जालमा कमेन्ट गर्नेलाई के गर्न सकिएला र,’ उनले भने, ‘सरकारले र हाम्रा मन्त्रीहरूले गरेका राम्रा काम प्रचार गर्न मिल्ने गरी विवरण राख्नुपर्‍यो। उनले पनि राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्नुअघि निश्चित मापदण्ड बनाउन आग्रह गरेका थिए। ‘कसैलाई सधैंभरि, कसैलाई कहिले पनि नहुने अवस्थाको अन्त्य गरौं । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि मापदण्ड बनाउनुपर्ने बताए । ‘बिनाविभेद राष्ट्रिय सभा उम्मेदवार तय गरौं, मापदण्ड बनाऔं,’ उनले भने, ‘चुनाव हारेकालाई फेरि उम्मेदवार बनाएर ल्याउँदा राम्रो सन्देश जाँदैन। यसरी ल्याउने हो भने म पनि उम्मेदवार हो । उनले नवलपरासीमा नेता र केन्द्रीय सदस्यलाई खबर नगरी सम्मेलन गरिएकोमा केन्द्रीय समितिको ध्यानाकर्षण पनि गराएका छन्।

‘गुटका नाममा गलत तत्वलाई प्रमोसन गर्न भएन । केन्द्रीय सदस्य नैनसिंह महरले माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको मापदण्ड बनाउनुपर्ने बताए। उनले तीनै तहका सरकार पार्टी र जनताप्रति जिम्मेवार नदेखिएको पनि बताए। ‘अघिल्लो बैठकमा तीनै तहका सरकार गठनका लागि संयन्त्र बनाउने भनिएको थियो तर त्यो निर्णय कार्यान्वयनमा आएन,’ महरले भने। उनले प्रतिस्पर्धी पार्टीहरूका बारेमा कांग्रेसले आधिकारिक दृष्टिकोण बनाउनुपर्ने बताए। महासमिति बैठकमा पार्टीले लिने नीतिबारे टुंगो लगाइने भएकोले त्यसअघि पार्टीका सबै निकाय, शुभेच्छुक र आमजनताको धारणा लिने प्रबन्ध गर्न पनि माग गरेका छन्। साथै उनले भ्रातृ संस्थाहरूको महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिए। सरकारको निगरानी गर्न पार्टीले संयन्त्र बनाउनुपर्ने केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले बताए।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार १५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। उनले शुक्रबार बिहान ११ बजे सानेपामा पुनः बैठक बस्ने बताए। बिहीबार केन्द्रीय समितिमा धारणा नराखेका नेताहरूले बैठक सकिएपछि कार्यालयको प्राङ्गणमा पत्रकारहरूसँग कुराकानी पनि गरेका थिए। पूर्वमहामन्त्री शशांक कोइरालाले मन्त्री परिवर्तन गरेर राम्रो काम हुन्छ भन्ने ग्यारेन्टी नभएको बताए । प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनर्गठन गर्ने संकेत गरिरहेकोबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिएका कोइरालाले भने, ‘मन्त्रीहरूका काम त राम्रो छैन तर मान्छे परिवर्तन गरेर राम्रो काम हुन्छ भनेर के ग्यारेन्टी छ ? उनले मन्त्री भएपछि के काम गर्ने भन्ने प्रष्ट नीति हुनुपर्ने बताए। ‘समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो भन्ने मेरो भनाइ हो,’ उनले भने। आफू मन्त्री नबन्ने पनि कोइरालाले बताए।

‘अहिलेका मन्त्रीहरूले काम गर्न सकेका छैनन्, किन काम गर्न सकेनन् म भन्न सक्दिनँ,’ उनले भने, ‘के(के काम गर्ने पहिले नै तय नगरेर पो हो कि१’ उनले अहिले भएकै मन्त्रीबाट काम लिन सक्नुपर्ने बताए। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रधानमन्त्रीलाई मन्त्री फेर्न पाउने अधिकार हुने बताए। प्रधानमन्त्रीले आफूलाई असहज भएमा जुनसुकै बेला पनि मन्त्री फेर्न पाउने उनी बताउँछन्। ‘एकदलीय सरकार छ भने त जतिबेला पनि मन्त्री बदल्न सकिन्छ। तर अहिले गठबन्धन सरकार छ। गठबन्धन दलका शीर्ष नेताहरूको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेला पनि हेरफेर गर्न सक्ने प्रावधानलाई कांग्रेसले अवरोध गर्दैन। सभापति शेरबहादुर देउवा भने अहिले मन्त्री हेरफेरका पक्षमा देखिएका छैनन्। ‘सभापतिज्यूले अहिले हामी महासमिति बैठक गर्दैछौं र राष्ट्रियसभा चुनाव पनि रहेकोले यो विषयमा पछि कुरा गरौंला भन्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *