ललितपुर सिटीको उत्कृष्ट प्रर्दशनसाथ पोखरा थन्डर्स पराजित

काठमाडौं । ललितपुर सिटी एफसीको उत्कृष्ट प्रर्दशनले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा कुशलले गरेको गोल निर्णायक बनेपछि ललितपुर रोमाञ्चक जितसहित फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरले नै पहिले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका थिए । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्तणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गरे । तर, ७२औं मिनेटमा स्टेफन कोजो पापा एनोरले गोल गर्दै पोखरालाई खेलमा फर्काए । जोए आइडुले राइट साइडबाट निकालेको क्रसमा बक्सभित्रका पापा एनोरले हेडर गोल गरे । यसपछि निर्धारित ९० मिनेटमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । ६ यार्ड बक्स नजिकबाट ललितपुरका कप्तान अनन्त तामाङको हेडर पोखराका रक्षकले क्लियर गर्न नसक्दा कुशलले सहजै गोल गरे । कुशलको यही गोल निर्णायक बनेपछि ललितपुरले उपाधिका लागि धनगढी एफसीसँगको भेट निश्चित गर्यो ।

त्यसअघि ३४औं मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसअघि उनले २४औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । खेलको ६६औं मिनेटमा खेलका मुख्य रेफ्री नै परिवर्तन भए । खेलको मुख्य रेफ्रीका रुपमा रहेका फिफा रेफ्री नविन्द्र महर्जनको स्थानमा चौथो अफिसियलको रुपमा रहेका राम दासनले त्यसपछिको खेल खेलाएका हुन् । यसपछि महर्जनले चौथो अफिसियलको भूमीका निभाएका थिए । एनएसएलमा रेफ्री परिवर्तन भएको यो दोस्रो पटक हो । यसअघि लिग चरणअन्तर्गत धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलमा रेफ्री परिवर्तन भएको थियो । यो जितसँगै अब उपाधिका लागि ललितपुरले प्रतियोगिताको साविक उपविजेतासमेत रहेको धनगढी एफसीसँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भए पनि लिग चरणको शीर्ष दुईभित्र अटाएकाले पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । यता, ललितपुरले भने प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *