बालकुमारीको घटनालाई लिएर सुर्खेतमा आन्दोलन

काठमाडौं । ललितपुरकोे बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको घटनालाई लिएर सुर्खेतमा आन्दोलन चर्किएको छ ।

एपीएस भाषा परीक्षाका विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर ‘युवा विद्रोही’ समूहले आज आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्काएको हो । उनीहरुले सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेका छन ।

रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् । यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणा गर्न माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।

उक्त समूहका विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । आन्दोलनकारीहरूले टायर बाल्ने काम पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *