देव दर्शन सहकारीको १५ औं साधारण सभा सम्पन्न


काठमाण्डौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा शुभकामना मन्तव्य राख्दै श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताए । पछिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित सहकारीमा धेरै समस्या देखिएको उनको भनाई छ । उनले भने, ‘पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो, यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ । एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै हुन् भन्ने बुझाइलाई अन्त्य गरिनुपर्छ । सदस्यको पूँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारीले नमूना प्रदर्शन गरेको छ । यसबाट अन्य सहकारीले सिक्नुपर्छ । काठमाडौं बचत तथा ऋण सहकारी सङ्घ ९कास्कुन०का अध्यक्ष दीपक पनेरुले सहकारीलाई भजाएर राजनीति गर्दा सहकारी क्षेत्र नै बदनाम हुन पुगेको गुनासो गरे । उनले भने, ‘७५ लाखभन्दा बढी सर्वसाधारण जनता आबद्ध रहेको सहकारी क्षेत्रमा निराशा आउनु दिनुहुँदैन । यस क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गरिनुपर्छ । साधारण सभामा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले आव २०७९।८० को वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे । अध्यक्ष घिमिरेले सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुले गरेको विश्वास र नियमित कारोवारका कारण विषम परिस्थितिमा संस्थाको साखलाई जोगाउन सफल भएको बताए ।

सहकारीको मेरुदण्डको रुपमा रहेको नियमित बचत खाता अनिर्वाय रुपमा सञ्चालन गर्ने , शेयर पुँजी वृद्धिका लागि सदस्यलाई आव्हान गर्ने , ऋणी सदस्यहरुलाई समयमा नै ऋणको साँवा ब्याज असुल गराउने र भाखा नाघेका ऋण सदस्यलाई कालोसूचीमा राखी संस्थाको वित्तीय अवस्थालाई मजवुत बनाउनेतर्फ लागि पर्ने सो अवसरमा उनले बताए । सोही कार्यक्रममा ‘सर्वोत्कृष्ट कर्मचारी सम्मान’ शिवकुमार थापा मगर र आस्था अर्याललाई पाँच हजारसहित प्रदान गरिएको थियो । निरा श्रेष्ठ, राजेन्द्र गोपाली, मीनादेवी श्रेष्ठ र रोहितबहादुर बलामीलाई पनि उत्कृष्ट बचत सदस्यका रूपमा सम्मान गरिएको थियो भने गत वर्षको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने आकृति श्रेष्ठ र रोसिस श्रेष्ठलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डको राशि पाँच हजार छ । विसं २०६६ असार ६ गतेदेखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल तीन हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति रु एक अर्ब १३ करोड २७ लाखभन्दा माथि पुगेको जनाइएको छ । कोभिड सङ्क्रमणको विश्वव्यापी प्रभाव, विश्व बजारमा आएको आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या, तरलता र ब्याजदरलगायत कारण आर्थिक क्षेत्रले सन्तोषजनक उपलब्धि हासिल गर्न समस्या भइरहँदा सहकारीले सो आवमा ७८ लाख २० हजार ७० मुनाफा कमाउन सफल भएको हो । सहकारीले सो आवमा कुल कारोबार रु एक अर्ब १३ करोड कुल कारोवार पुर्याएको छ । आव २०७९।८० मा सो संस्थाको निक्षेप सङ्कलन रु एक अर्ब ६ करोड ५६ लाख र शेयर पूँजी रु चार करोड ७४ लाख सात हजार पुगेको जनाइएको छ । सहकारीको १५ औं वार्षिक प्रतिवेदनका अनुसार आव २०८०।८१ शेयर पूँजी रु पाँच करोड पुर्याउने, निक्षेप सङ्कलन रु एक अर्ब २५ करोड गर्ने र कर्जा लगानी रु २० करोड गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय सहकारी बैङ्क, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, काठमाडौं जिल्ला सहकारी सङ्घ तथा काठमाडौं बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो सहकारीले आफ्नो शेयर सदस्यतलाई रु पाँच हजार सुत्केरी भत्ता तथा काजकिरियासमेत प्रदान गर्दै आएको छ । सहकारीको अध्यक्ष घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् । यसैगरी, देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायत कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ । संस्थाले सदस्य हितकोष नीति अनुसार १० जना सदस्यलाई हितकोषबाट रकम पदान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *