सेनाको कल्याणकारी कोषको सम्पत्ति साढे ८२ अर्ब

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषको कुल सम्पत्ति साढे ८२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाली सेनाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कोषमा २०८० पुस मसान्तसम्म ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । विभिन्न कार्यक्रममा कोषबाट ६ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ लगानी गरिएको सेनाले जनाएको छ । कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ रहेको छ, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाका बहालवाला एवं अवकाशप्राप्त सकल दर्जा तथा तिनका आश्रित परिवारजनको हितका लागि शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराई जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले कोष सञ्चालनमा ल्याइएको हो ।

कोषको कल्याणकारी गतिविधिहरूबाट सर्वसाधारण पनि लाभान्वित हुँदै आएको दाबी सेनाको छ । सैनिक कल्याणकारी निर्देशनालय मातहत सञ्चालित शिक्षण संस्थाहरू, स्वास्थ्य उपचार सुविधा एवं अन्य गतिविधिहरूबाट तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, वार्षिक एक अर्ब २५ करोड भन्दा बढी रकम मुलुकको राजस्वमा प्रत्यक्ष योगदान भइरहेको छ, सेनाले विज्ञप्तिमा भनेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आइतबार सैनिक कल्याणकारी निर्देशनालयको भ्रमण गरेका थिए । भ्रमणका बेला प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोष मातहत सञ्चालित गतिविधिबारे रक्षामन्त्री खड्कालाई जानकारी गराएका थिए । कल्याणकारी कोषको स्थापना २०३२ सालमा गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *