एमालेको धादिङ अधिवेशनमा तनाव , दुई पक्षबीच कुटाकुट

काठमाडौं । नेकपा (एमाले) को धादिङ अधिवेशनमा दुई पक्षबीच कुटाकुट भएको छ । कुटाकुटपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी धादिङ अधिवेशन स्थगित भएको जानकारी गराएका हुन् ।

अधिवेशन तनावग्रस्त बनेसँगै यसका बाँकी काम–कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।

यही माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा हात हालाहाल भएको थियो । यसै क्रममा भिडन्त हुँदा पार्टी कार्यकर्ताको हात भाँचिएको थियो ।

नेकपा एमाले, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले प्रतिनिधि विवादका कारण कुटाकुट भएको र सन्तोष खनालको हात भाँचिएको विज्ञप्तिमार्फत जनाएका छन् । जिल्ला अध्यक्षले प्रतिनिधिको भावना नबुझी एकलौटी गर्दा यस्तो हुन पुगेको उनको भनाइ छ । जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वयसम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध गर्नुपर्नेमा त्यसलाई समेत नजरअन्दाज गरिएको उनले बताए ।

‘‘बन्दसत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डललगायत विभिन्न समितिहरूमा रहने नेताको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटीका अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीबाट छलफलको माग गर्दागर्दै जिल्ला कमिटी अध्यक्षले जबरजस्ती पेश गर्नुभयो । उहाँले एकलौटी गर्न खोजेपछि बैठक कक्षमा असहज स्थिति उत्पन्न हुन पुग्यो,’ ढुंगेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, धादिङको अधिवेशनसमेत अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशनलाई मर्यादित र विधिसंगत ढंगले सञ्चालन गर्ने सम्भावना नदेखिएकाले स्थगित गरिएको ढुंगेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *