आफ्नै अपहरणको नाटक गर्ने ताइवानी युट्युबवरलाई जेल सजाय

एक ताइवानी युट्युबवरलाई कम्बोडियामा जेल सजाय दिइएको छ । साथीसँग मिलेर आफ्नै अपहरणको नाटक गर्ने चेन नेङ–चुआन नाम गरेका युवकलाई २ वर्षको जेल सजाय दिइएको हो । प्रहरीले चेनको साथमा उनको साथी लु शु ह्सेएनलाई पनि समातेको थियो । लुलाई पनि २ वर्षकै सजाय दिइएको छ । उनीहरुले शिहानोउकभिल्ले सहरमा एउटा समूहले आफूहरुलाई अपहरण गरेको अनि कुटपिट गरेको भिडियो पोस्ट गरेका थिए । उक्त सहर मान्छेहरूको सामूहिक अपहरण गर्ने अनि अपहरितहरूलाई अनलाइन घोटालामा काम गर्न बाध्य पार्ने सहरका रूपमा कुख्यात छ । ‘गूडनाइट चिकेन’का नामले चर्चित युट्युबवर चेनले अपहरणमा परेको अनि मद्दत चाहिएको भन्दै भिडियो पोस्ट गरेका थिए ।

त्यसको भोलिपल्ट चेनकी श्रीमतीले आफ्नो श्रीमान् हराएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिन् । त्यसपछि चेनले आफूहरू अपहरणकारीको फन्दाबाट फुत्किएर भागेको अर्को भिडियो पोस्ट गरे । शरीरका कयौँ हिस्सामा चोट लागेको अनि टाउकोमा केही ठाउँमा खौरिएको उनले बताएका थिए । तर अनलाइनमा पोस्ट गरिएको भिडियोमा देखाइएको स्थान हेरेर एक जना अनलाइन इन्फ्लुएन्सरले चेन भाग्नुको सट्टा एकै ठाउँमा गोलगोल घुमिरहेको औँल्याइदिए । अनि अपहरणकारीहरूलाई लाइभ स्ट्रिमका लागि उपकरण साथमै किन छाडे भन्ने प्रश्न पनि उठ्यो ? चाँडै नै प्रहरीले दुबैलाई समाते । प्रान्तीय अदालतले शुक्रबार सामाजिक सुरक्षामा खलल पुर्‍याएको ठहर गर्दै दुबैलाई २ हजार डलर जरिवाना तिर्न र २ वर्षको जेल सजाय सुनायो । कम्बोडियामा पछिल्लो मानव तस्करी सम्बन्धी अनलाइन घोटाला निकै ठुलो समस्या बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *