५६ वर्षको उमेरमा १४औँ बर्थडे मनाउँदै यी महिला

दुनियामा आफ्नो जन्मदिन मनाउने मानिसहरुको तरिका फरक फरक हुन्छ । कसैले पार्टी गरेर बर्थडे मनाउँछन् त कोहीँ घुमफिर गर्दछन् । कतिपयको जन्मदिन निकै चर्चाको विषय बन्दछ र विशेष पनि रहन्छ । अमेरिकाकी ५६ वर्षीया एक महिलाको जन्मदिन पनि यो पटक विशेष हुनेवाला छ । यहीँ हप्ता ५६ वर्ष पुग्न लागेकी लिज ड्युरेनले वास्तवमा ५६ औँ बर्थडे मनाउनु पर्ने हो । तर उनले आफ्नो ५६औँ होइन १४ औँ बर्थडे मनाउँदैछिन् । ५६ वर्षकी हुँदापनि बल्ल १४ औँ बर्थडे मनाउन थालेकी लिजले आफ्नो किशोर बर्थडेको विशेष पार्टीको आयोजना गर्दैछिन् । उनको उमेर यहीँ फेब्रुअरी २९ मा ५६ वर्ष पुग्दैछ । न्युयोर्क पोस्टसँग उनले भनेकी छिन् ः जब म ४४ वर्षको भएकी थिएँ त्यसबेला मैले आफ्नो १० औँ बर्थडे पार्टी गरिरहेकी थिएँ । मैले जादूगरलाई बोलाएँ र खेलको पनि आयोजना गरेँ । अहिले म उमेरले ५५ वर्षकी भएँ तर केवल १३ वटामात्रै बर्थडे मनाएकी हुँदा एक हिसाबले केवल १३ वर्षकी मात्रै छु । म सधै जवान नै रहन सक्छु । आखिर किन भयो त त्यस्तो ? वास्तवमा यस्तो हुनुको कारण चाहीँ उनको जन्ममिति हो । उनको जन्म फेब्रुअरी २९ मा भएको हो जुन हरेक चार वर्षको अन्तरमा अधिक वर्षको बेला मात्रै आउँछ । त्यसैले उनले केवल ४–४ वर्षमा मात्रै आफ्नो जन्मदिन मनाउन पाउँछिन् र त्यसै अनुरुप यो वर्ष आफ्नो १४ औँ जन्मदिन मनाउँदै छिन् । अमेरिकाको साउथ क्यारोलिनास्थित चाल्र्सटनमा बस्ने लिज पेशाले एक इतिहासकार हुन् र उनको आफ्नै पडकास्ट च्यानल पनि छ । ब्रिस्टल लाइभका अनुसार उनी चार वर्षकी हुँदा उनका आमाबुवाले उनको पहिलो जन्मदिन मनाएका थिए । त्यसपछि उनले हरेक ४ वर्षमा बर्थडे पार्टी दिँदै आएकी छिन् फेब्रुअरी २९ मा । तर अधिक वर्ष नहुँदाका अन्य ३ तीन वर्षमा भने उनले मार्च १ मा भोज गर्छिन्, बर्थडे मनाउन नपाएपनि । समाचार अनुसार लिजलाई बाल्यकालमा अरुले नै अभिभावकत्व ग्रहण गरेर पालेका थिए र आफ्नो त्यहीँ फरक जन्मदिनका कारण उनले आफ्ना वास्तविक बुवाआमा फेला पारेकी थिइन् । उनी फेसबुककै माध्यमबाट आफुलाई जन्मदिने आमाको सम्पर्कमा आउन सफल भएकी थिइन् । त्यसपछि उनले आफ्ना पिता पनि पत्ता लगाइन् र अहिले उनीहरुबीच राम्रो सम्बन्ध छ । एक तथ्यांक अनुसार यो वर्षको फेब्रुअरी २९ मा विश्वका करीब ५० लाख जनाले आफ्नो जन्मदिन मनाउँदैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *