ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुँदै…

तनहुँ । पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् ।

हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सीको उपयोग गर्दछन् । परालको गुन्द्रीसँगै सिमान्तकृत दरै (दराई) समुदायले प्राकृतिक तथा जैविक कच्चापदार्थको प्रयोग गरी गुदको गुन्द्री बुन्ने गर्दछन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँका ६८ वर्षीया मनसुलीमाया दरैले सानो उमेरदेखि गुदको गुन्द्री बुन्दै आएको बताइन् । उनले भनिन्, “साउन अन्तिमदेखि कात्तिकसम्म गुद सङ्कलनका लागि विभिन्न स्थानमा जानुपर्छ । पुस, माघमा हर्रोको लेदोले पोतेर सुकाइन्छ । प्राकृतिकरुपमा जङ्गलमा रहेका कच्चापदार्थ सङ्कलन गरी माघ, फागुन, चैतसम्म बुन्ने गरेका छौँ ।” गुदको गुन्द्री बुन्ने निकै समय र मेहेनत लाग्ने मनसुलीमायाले जानकारी दिइन् । “राम्रो र बुट्टेदार देखिए पनि बुन्न भने लामो समय लाग्छ । मौलिक संस्कार र संस्कृति जोगाउनका लागि हामीले अझै गुदका गुन्द्री बुन्ने गरेका छौँ”, उनले भनिन् । अतिथि सत्कार मात्रै नभई संस्कार र पहिचानका लागि पनि गुन्द्री बुन्ने गरिएको उहाँको भनाइ छ ।

स्थानीय ६६ वर्षीया फूलमाया दरैले भनिन्, “पहिले पहिले त बाबियाको डोरीले गुन्द्री बुनिन्थ्यो । अहिले फेरिँदै गएको छ । हामी अल्छी हुन थालेका छौँ । अहिले सुतरीको डोरीमा नै गुदको गुन्द्री बुन्छौँ ।” पहिले पहिले धेरै ठाउँमा पाइने गुद अहिले पाउन अलि कठिन हुन थालेको उनको अनुभव छ ।

फूलमायाले भनिन्, “पहिले त चार/पाँच दिन लगाएर विभिन्न स्थानमा पुगेर खोला किनारमा पाइने गुद लिएर आउने गथ्र्यौं । ल्याएर घाममा सुकाएर पुस लागेपछि भने बुट्टेदार गुन्द्री बुन्नका लागि रङ्ग्याउने कार्य थालनी हुन्छ ।” साधाभन्दा बुट्टेदार बुन्ने प्रचलन बढी रहेको भन्दै यो आकर्षित पनि देखिने उनले बताइन् ।

पहिले हिँडेर गुद ल्याउने गरिएको थियो भने अहिले सवारीसाधनमा जाने हुँदा एकै दिनमा ल्याउने गरिएको फूलमायाले बताइन् । सुविधाको पनि उपयोग गरिरहेको भन्दै परालको भन्दा गुदको गुन्द्री बुन्न कठिन हुने उनको अनुभव छ । “परालको गुन्द्रीमा बिट सजिलो हुन्छ । गुदको गुन्द्रीमा बुट्टासँगै बिट मार्नै फरक तरिका हुने भएकाले अलि समय लाग्छ”, उनले भनिन् ।

परालको गुन्द्रीमा जस्तो बिटले गुदको गुन्द्री एकैछिनमा फुस्किने भएकाले पनि यो फरक तरिकाले बनाउनुपर्ने फूलमायाले बताइन् । “यो फरक र कसिलो हुन्छ । जो कोहीलाई यो बिट मार्नै मुस्किल हुन्छ । अहिलेका बच्चा सिक्नै मान्दैनन्”, उनले भनिन्, “बस्न र चलाउन खोजे पनि कच्चापदार्थ खोज्न सहज छैन । अलि बुढा भइसकेका महिला सकिएपछि हाम्रो त गुदको गुन्द्री पनि हराउँछ होला ।”

हर्रोको बोक्रालाई पानीमा उमालेर बनाइएको लेदो गुदमा लगाइ घाममा सुकाइन्छ । सुकाइसकेपछि हिलो गाडेर कालो बनाउनु पर्दछ । दरै समुदायका महिलाले कालो र सेतो रङमा बुट्टा बनाएर गुन्द्री बुन्ने गर्दछन् । हिलो राम्रो नभएको स्थानमा गाड्दा कालो राम्रो नआउने उनिहरुको भनाइ छ ।

हिलोमा गाडेर कालो भएपछि घर ल्याएर सुकाइ केही समय राखेर मात्रै बुन्न सकिन्छ । ४५ वर्षीया सुनिता दरैले भनिन्, “मेरो छोरा २४ वर्ष लाग्यो । मैले छोरा नपाउँदै बुनेको गुदको गुन्द्री अझै राम्रै छ । गुदको गुन्द्री टिकाउ पनि हुन्छ ।” साथीहरुसँग गुद खोज्न जाने गरिएको भन्दै हालसम्म परम्परा जोगिए पनि पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उनले बताइन् ।

ज्येष्ठ र अधबैँशे महिलामा यो आकर्षण भए पनि युवामा चासो नदेखिएको सुनिताको भनाइ छ । विगतमा पुरुष र महिला भएर जाने गरे पनि हाल महिला मात्रै गुद खोज्न जाने उनले बताइन् ।संस्कार र संस्कृतिसँग नै जोडिएकाले संरक्षण गर्नुपर्ने उनिहरुको जोड छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *