पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

फिक्कल (इलाम)। इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् ।

इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्करणको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुन लागेको हो । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।

उनका अनुसार ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार सहभागी हुनेछन् । “इलाम आफैँमा एउटा रमणीय र सुन्दर पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट थप विकास र प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएका हौँ”, अध्यक्ष थाम्सुहाङले भने, “महोत्सवमा नेपाल र भारतका गरी दुई सय बढी साहित्यकार यहाँ आउनुहुनेछ ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुहुने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस हुने उनले जानकारी दिए । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सम्भाषण हुने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन ‘सङ्घीयताः यस्तो वा कस्तो ?’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा अरुण गुप्ता र राजन मुकारङबोको बहस र ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतको बहस हुने प्रतिष्ठनका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णीम वाग्लेको प्रस्तुति रहनेछ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने आयोजकले जनाएको छ । साथै ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचनसमेत सोही दिन हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

दोस्रो दिन ‘संरक्षण र पर्या–पर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीको बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टको बहस, ‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप गिरी र विश्वप्रकाश शर्माको बहस हुनेछ । साँझ गजल सन्ध्यासँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *