नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको छ । यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए । तर, एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पु¥याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका चारै टिम छनोट भएका हुन् ।

प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो । एसीसीको नयाँ संरचनाअनुसार नेपाल र थाइल्यान्डले प्रतियोगितामा स्थान बनाएका हुन् । महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुने तय भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन् । यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् । नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *