नयाँ बर्षले सम्झाएका पुराना कुराहरु भाग १ ः दल भित्रका बीकृति

“जुन कुराले जनताको हित हुन्छ,त्यही कुरा देश हितको कुरा हो”(प्रथम जन निर्वाचित प्रधानमन्त्री स्व.बीपी कोइराला) । जीवनको यो चक्रमा पुरानो कुराहरुको स्मरणको श्रङ्खला समेत जोड्नु पर्यो भनेर बिगतका बिचार परक कुराहरु प्रस्तुत गरेको छु ।(१) विश्वको सर्वश्रेष्ठ लोकतान्त्रिक राष्ट्र मानिने अमेरिकाका डेमोक्रेटीकदलको तर्फका निर्वाचित राष्ट्र प्रमुख जोन बाइडेनको कार्यकाल ई.सं.२०२१ डिसेम्बरबाट शुरु भएर १८ मार्च ई.सं.२०२४ मा दक्षिण कोरियामा तेश्रो लोकतन्त्रको लागि सम्मेलन भयो । अनुशासन हीनता अराजकता सही लोकतन्त्र हैन । कुलिन वर्गलाई राज्यमा जे गर्न पनि अधिकार हुने अनी निम्न पिछडिएका श्रोत साधन र रोजगारि नहुनेहरुले बीकृति बिसङ्गतिको खवरदारी गरेमा कारागारको बाश मात्र हैन मृत्य समेत बरण गर्नुपर्ने स्थिति सही लोकतन्त्रले सिर्जना गर्दैन । संबिधानको ठेली देखाएर मात्र अनी राजनीतिक प्रतिवेदनमा जनताको नाममा गोहिको आँशु बहाऊँदैमा सही लोकतन्त्रको कार्यान्वयन हुने रहेन छ । लोककल्याणकारी कार्यमा राज्यको भूमिकालाई गौण गरेर पूँजीको अत्यधिक केन्द्रीकरण भइ रहेको स्थितिमा बिश्वमा अहिले निम्न बर्गलाई जीविका गर्न कठिन भएको छ कोहि आत्महत्या त कोही घर परिवार छोडेर रोजगारिकों लागि बिदेश जान बाध्य भएका छन । बहुराष्ट्रिय कम्पनीको उत्पादनका एकरूपका बैश्विक सूत्र जस्तो लोकतन्त्रको एकरूपकों सूत्र हुदैन(हरेक देशको सामाजिक(राजनीतिक(आर्थिक( भौगोलिक परिस्थितिहरुले देश अनुकूल सही लोकतन्त्रको उचित स्वरूपको निरूपण गरेर गर्दछ भन्ने जस्ता बहस पनि गर्न शुरू भएका छन । एशियाका प्रसिद्ध सामाजबादी नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले बिदेशी समाजबादीहरुलाई तपाईँहरुले भने जस्तो हैन आफ्नो देश नेपालको अनुकूल प्रजातान्त्रिक समाजबाद हुनेछ भनेर जवाफ दिनु हुन्थ्यो । प्रजातन्त्र भनेको देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको ग्यारेन्टी, देशको सभ्यता अनुकूलको शासन र आम नागरिकहरुको खुसि एवं सुखि जिन्दगी र निर्वाचनको विधि हो । प्रजातन्त्रमा निर्वाचन हुनु पर्दछ तर यस्तो निर्वाचन दलियताका आधारमा मात्र हुनु पर्दछ भन्ने आवश्यक हुँदैन । प्रजातन्त्रको नमूना आफ्नो आवश्यकतानुसार बहुदलीय, एक दलीय, द्विदलीय, निर्दलिय जस्तो रुपमा पनि हुन सक्छ । मूख्य कुरा त्यसले राष्ट्र र नागरिकहरुका लागि के गर्दछ भन्ने हो(भरत दाहाल. सामाजिक सञ्जालको भित्ताबाट) जस्ता बिचारहरु उठाएर लोकतन्त्रको प्रचलित ब्याख्याप्रति असहमति जनाउनेहरु पनि छन । जनताको खुशी र स्वास्थ्यको संरक्षण गर्नु सरकारको कर्तव्य हो भनेर थोमस् जेफरसनले भन्नु भएको सन्दर्भलाई जे अर्थ लाएपनि लोकतन्त्रले यती पनि गर्न नसक्ने हो भने त्यो सरकार लोकतान्त्रिक हुन सक्दैन । बृहत अर्थमा बुझीने प्रजातन्त्र(लोकतन्त्र(जनतन्त्र विकासशील,बैज्ञानिक तथा गतिशील दर्शन भएकाले अरु जनपक्षीय दर्शन जस्तै यो पनि नयाँ ब्याख्या–बहसबाट अछूत रहन सक्दैन ।(२) नेपाली काँग्रेसका पुराना नेता अनारसिंह कार्कीले २४ पूष बि.सं.२०७८ को आफ्नो सामाजिक सञ्जालकों भित्तामा देहाएका बिचारहरु साझा गर्नु भएको थियो ः(२क) नेपाली काँग्रेसमा दुइटा रोग जटिल बनेका छ्न । एउटा गुटबन्दी र अर्को अन्तरघात । गुटको बीज राष्ट्रिय काँग्रेस र प्रजातान्त्रिक काँग्रेसको एकीकरण सँगसँगै आएको हो । मातृका र बीपी बीचको सौतेनी झगडाले गुटलाई अझ मलजल थप्ने काम गर्यो। मात्रिकाको बहिर्गमन पछि शुवर्ण शमशेरको शालिनता र सहिष्णुताका कारणले केहि मत्थर भएजस्तो देखिए पनि आगो निभेको चाहि थिएन । बि.सं.२०१५ सालको आमनिर्वाचनमा सूर्यप्रसादमाथि अन्तरघातका रुपमा प्रकट भयो । उनी उठेको दुई क्षेत्र मध्य काठमाडौं छेत्रमा कम्युनिस्ट पार्टीको तर्फबाट अरबिन्द रिमाल उम्मेदवार हुनुहुन्थ्यो बैध्दिकरुपमा उहाँ अहिले पनि सक्रिय हुनुहुन्छ। उहाँलाई विशेष थाहा होला । पूर्व २ नं को जुन क्षेत्रबाट उनी उठेका थिए त्यसमा दुम्जा पनि पर्थ्यो। दुम्जामा काँग्रेसका ५ सय सक्रिय सदस्य रहेछन् । त्यो बुथबाट काँग्रेस उम्मेदवार सूर्यप्रसादलाई ३० मत परेछ । यस अन्तरघातमा बीपी दोषरहित हुन सक्छन ? काँग्रेसमा अन्तरघातको रोग खुलारुपमा प्रकट भएको त्यसैबेला देखि हो । (२ख) नेपालको राजनीतिमा कृष्ण प्रसाद कोईरालाका सन्तानमा प्रजातन्त्र हाम्रो नेतृत्वमा आएकोले पार्टी र सरकारको नेतृत्वमा हाम्रो पहिलो हक हुनुपर्छ भन्ने मानसिकता रहेको पाइन्छ । त्यो मनोबिज्ञान अपेक्षाकृत अतार्किक भद्धा र मुढेबल मिचाइका रुपमा गिरिजा कालमा प्रकट भयो । जसका शिकार कृष्णप्रसाद र गणेशमान समेतका मानिस भए । त्यसै बेलादेखि पार्टी र सत्तामा बलियो हुन ब्यापक रुपमा बाहुबली डनहरु,विभिन्न जात र खालका ब्यपारीहरु,ठेकेदारहरु र अपराधीहरु समेतलाई भित्राउन चारै ढोका खोलियो । त्यसपछि काँग्रेसका लागि जेल र निर्बासनमा बसेर गान्धी,नेहरु,आचार्य नरेन्द्र देव,डा लोहिया जयप्रकाश आदिका समाजबादका पुस्तक पढने र प्रजातान्त्रिक समाजबाद र कम्युनिस्ट समाजबाद बीचको अन्तर र लेनिन र रोजाका बिबाद र बहसमा चाख राख्ने पुस्ता बिस्तारै असान्दर्भिक र अनुपयोगी हुदै पाखा लाग्न थाल्यो । ९२ग० त्यसले कांग्रेसमा गिरिजाको एकलौटि पकड मात्रै कायम भएन त्यो प्रवृत्तिले जरो गाढ्न पुग्यो । त्यहि पदचिन्हबाट नेतृत्वमा स्थापित हुन पुगे शेर बहादुर,खुम बहादुर,बिजय गच्छदार,बालकृष्ण खाँड आदि । त्यसमा पनि कम्युनिसष्टसँगको दिल्लीको १२ बुँदे सहमति पछि काँग्रेस केवल सत्तामा पुग्ने जमातकारुपमा परिणत हुन पुगेको छ । यस्तो अबस्थामा पार्टी भित्र आरजु राणा गणेश लामा,कान्छा लामा,जिपछिरिङ्ग, बिनोद चौधरीहरुले प्रभुत्व जमाउनु अस्वभाविक होइन । (२घ) जेहोस,यस पटक कोइराला परिबारकै उतराधिकारीका रुपमा हैसियत बनाए पनि पछिल्लो बिचार व्यबहार र शालिनता र सक्रियताका कारण अपेक्षाकृत राम्रो छवि बनाउदै आएका शेखर कोइराला र गगन थापा जस्ताले काँग्रेस भित्रका गुट र उपगुट समाप्त पार्ने चर्को नारा लगाएर राम्रै भोट ल्याउन सफल पनि भए। तर अहिले उनीहरू पनि गुटगत भेला गरेर हैसियत अनुसारको भागबन्डा पाउने सजिलो बाटोतिरै लागेछन् । किनभने काँग्रेसबाट गुट र अन्तर्घातलाई समाप्त पार्ने उनीहरुको नारा बस्तुगत यथार्थसँग मेल खादैन थियो । काँग्रेसमा गुट र अन्तर्घातलाई समाप्त पार्न त्यसको सैद्धान्तिक र नीतिगत स्वरुपमा नै आमुल परिवर्तन गर्न जरुरी छ । त्यसैले ड्राइभर फेरेर हुदैन इन्जिन नै फेर्नुपर्छ ।
(३) नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओबादी)का महासचिव मोहन बैधले माओ दिवशको अवसरपारेर बिगतमा केही बामनेताहरुप्रति केही कटाक्ष गर्नु भएको रहेछः (३क) कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएका,यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने,अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको छ । (३ख) दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेका छन् । प्रचण्डले माओवाद त उहिले छोडिसके,अहिले सबैवाद झुन्ड्याएका छन् । प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौँ,प्रतिगमनका विरुद्ध जाने हामी हौँ भन्दै आफूलाई क्रान्तिकारी भनेर कुर्लेका छन् । यो संविधानको रक्षा गरे त,त्यही हो प्रतिगमन,त्यही हो प्रतिक्रान्तिकारी,ओलीहरु,प्रचण्डहरु दक्षिणपन्थीमात्रै होइनन्,दक्षिणपन्थीभन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरु त प्रतिक्रियावादका दलाल हुन् । मार्क्सवाद, लेनिनवाद, माओवादमात्र भनेर नहुने त्यसले भने अनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्छ (११ पुस बि.सं.२०७८ कान्तिपुर संवाददाता । समाचार । कान्तिपुर दैनिक । ११ पुस बि.सं.२०७८ । (४) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मार्क्सवादलाई समय सापेक्ष बिकाश, परिमार्जन,संषोधन परिवर्तन गर्नुपर्छ भनेर बिचार ब्यक्त गर्दै भन्नु हुन्छ ः(४क) मा.ले.मा. को सैद्धान्तिक दिशा निर्देशनमा भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विशेषताहरू, विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएको क्रान्तिले उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासमा परेको प्रभावसमेतको वस्तुवादी विश्लेषणका आधारमा आजको कम्युनिस्ट क्रान्तिकारीहरूले नयाँ चरणको समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकास र परिमार्जन गर्न अनिवार्य छ ।
(५) अरुले गरेको ज्यादती बेठीक र आफुले गरेको सवै ठीक भन्ने कुराले मेलमिलाप हुँदैन । सङ्क्रमणकालीन न्यायको निकास शीर्षकमा बि.सं.२०७८ पुष २३ गतेको गोरखापत्रमा लेखक राजन कुईंकेलले लेख्नु भएको थियो ः (५क) आठौँ महाधिवेशनमा पुष्पकमल दाहाल स्वयंले शान्ति प्रक्रियामा आएपछि पार्टी र नेतृत्वबाट कहाँ कहाँ गल्ती भयो भनेर आत्मालोचनासहितको प्रतिवेदन पेस गर्नुभयो । जसमा पहिलो संविधान सभामा पार्टीले पाएको शानदार मत, सेना समायोजनलगायतका विषयमा चुकेको स्वीकारिएको छ । पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष पनि निकालिएको छ । (५ख) जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखेको स्वीकार्दै दाहालले लेख्नुभएको छ, पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण,सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता–कार्यकर्ता र जनताबीचको सम्बन्ध वैयक्तिक, सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टीको सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको छ । सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीतिक सङ्गठन र आचरणको तहबाट गम्भीर बहस र छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ । समूहगत छलफलमा भने प्रतिनिधिले पहिलो संविधान सभा निर्वाचनपछि तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा नस्वीकार्नुले पार्टी अहिलेको अवस्थामा पुगेको बताएका छन् । (५ग) सत्ता र शक्तिबाट खुम्चिनुपर्दाको पीडा एक दशकपछि नै आएर भए पनि स्वीकार्ने माओवादी नेतृत्वले यिनै नेताहरूलाई आजको विलासी जीवनशैलीमा पुर्याउन जीवन आहूति दिने योद्धा र सशस्त्र हिंसा र प्रतिहिंसाको मारमा परेको निहत्था नागरिकको न्यायका बारेमा किन इमानदारिता देखाउँदैनन् ? पीडितका माग र विषय किन हरेक पटक सत्ता उक्लने भर्याङ मात्र बनाइँदै छ ? सत्ताबाट बहिर्गमन हुनपरेको सन्दर्भ मात्र होइन, पार्टी खिइँदै गएको विषयमा दाहालले जसरी चिन्ता व्यक्त गर्नुभएको छ, बिनाकारण पीडित बनाइएका व्यक्ति र तिनका आफन्तको न्यायप्रति इमानदार हुन नसकेको विषयलाई किन स्वीकार्नुभएको छैन ? जुनसुकै घटकका नेता हुन् वा माओवादी नाम नै परित्याग गरिसकेका भट्टराई नै,सशस्त्र हिंसामा मारिएका व्यक्तिको न्यायमा सम्झौता हुनु हुँदैन भन्ने आवाज मुखरित हुँदा किन एक ठाउँमा डल्लो पर्छन् ?
(६) नेता र निम्छरो सङ्गठन शीर्षकमा लेखक विमल लामिछाने बि.सं.२०७८ पूष ११ गते झिलको डटकम देहाएका बिचार दिनु भएको थियो ः (६क) हरेक सिद्धान्तले एउटा आफ्नै आचरण, संस्कृति बनाएको हुन्छ र त्यसैमा ढालिनु पर्छ । चाहे त्यो राजनीतिक, आर्थिक होस् या धार्मिक सिद्धान्त किन नहुन् । मान्छेले फेर्न अत्यन्तै कठिन भनेको स्वभाव र संस्कृति हुन् । हुनत दार्शनिकहरु भन्छन्– सिद्धान्तहीनता हुनु पनि एउटा आफैँमा सिद्धान्त हो ।(६ख) कुनै दिन क्रान्तिकारीहरू प्रतिक्रान्तिकारी बन्न थालेपछि उनीहरुको वर्ग पनि रुपान्तरण हुँदोरहेछ । कहीँ पनि बनिबनाएका सिद्धान्तले क्रान्ति वा आमूल परिवर्तनको नेतृत्व गर्न सकेको छैन । चाहे त्यो लेनिनदेखि माओसम्म र गान्धीदेखि नेल्सन मण्डेलासम्म किन नहोस् तिनीहरुले आफ्नो देश,काल, परिस्थितिलाई सम्बोधन गरेर मात्रै आफ्ना एजेण्डामा व्यापक जनमत डोहोर्याउन सकेका थिए । समय परिवर्तनशील छ,गतिशील हुन्छ,निरन्तर अगाडि बढिरहन्छ । वर्ग भन्दा सत्ता, र सामूहिक जीवनको भन्दा निजी चिन्ता,वर्गको भन्दा पारिवारिक मोह बढ्नु स्वभाविक जस्तो हुँदै जाँदो रहेछ । यहाँको तितो यथार्थ यही हो । अग्रमनका एजेन्डा भएर मात्र हुँदैन । त्यसलाई जनताकै भाषा र लयमा बुझाउन आवश्यक हुन्छ । (६ग) मानसिकता फेरिन त चेत परिवर्तन हुनपर्यो । आदर्शसँगै ब्यवहारिक पक्ष पनि सुधारिँदै लान सक्नुपर्यो । दर्शन र राजनीतिलाई सामाजिकीकरण गर्न सकिएन भने परिवर्तन संस्थागत हुनै सक्दैन । यो माक्सवादी सिद्धान्तले नै बोलिसकेको कुरा हो । एक्काइसौं सताब्दीको राजनीतिक पार्टी भनेको सामाजिक वर्ग, चिन्तन र अभ्यासका प्रतिनिधि र नागरिक समाजको अगुवा नेतृत्व पनि हो । तर यहाँ सिद्धान्तको राजनीतिकि सुविधाको सिद्धान्त भन्ने अन्यौलता कायम नै छ । सुविधाको सिद्धान्त हो भने मार्गदर्शक सिद्धान्त नै फेरिएको भन्ने हिम्मत अब पार्टी, नेता र कार्यकर्तासमेतले गर्नुपर्छ । होइन भने आचरण सुधार्न सक्नुपर्छ ।
(७) नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै भन्नु भएको थियो ,जुनसुकै पार्टीमा भएपनि राष्ट्रियताको झन्डा उठाउनुपर्छ । देशको स्वाभिमानमाथि उठाउने सन्दर्भमा हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । राष्ट्रियताको सवालमा बिमति हुनुपर्ने कारण छैन । राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा हामीलाई स्वीकार्य हुँदैन । कुनै व्यक्ति र वंशको नाताशाही हामीलाई स्वीकार्य हुँदैन । सबैको सम्मान र मर्यादाको रक्षा गरेर अगाडि बढ्दा मात्र देशले प्रगति गर्नसक्छ’, उनले भने ‘नेपाली समाजमा अन्याय विद्यमान छ (झिलकों डट काम । बि.सं.२०७८ पूष ११) ।
(८) मतदातासँग नियमित संवाद शीर्षकमा बि.सं.२०७८ पुष २२ गते गोरखापत्रमा लेखक प्रदिप्नराज पन्तले यस्तो लेख्नु भएको थियो ः (८क) अहिले नेपालका नेताहरू लोकतान्त्रिक राजनीतिको जीवन्त वास्तविकता, दार्शनिक दृष्टिकोण र सिद्धान्तबाट टाढा पुगेको हो कि जस्तो देखिन्छ । जसले गर्दा लोकतन्त्र कमजोर व्यवस्था हो भन्ने भान विस्तारै जनतालाई पर्न गएको छ । नेपाली काँग्रेस १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरतिर नेताहरूलाई सही नजरले हेर्दैनन् भन्ने अभिव्यक्तिलाई जसरी व्याख्या गरेपनि नेपालको राजनीतिमा विगत केही वर्षदेखि भएको घटनाक्रमलाई अध्ययन गर्ने हो भने नेताहरूप्रतिको विश्वासमा जनताको समर्थन कम भएको र नेपालमा सत्ताको प्रयोग नागरिकद्वारा नभई हित समूह, पैरवीकार वा मध्यस्थकर्ताद्वारा भएको हो कि भन्ने आभास हुन थालेको पाइन्छ ।
(८ख) नेपालको नेतृत्वलाई सरसर्ती हेर्दा उनीहरूको सम्पूर्ण ध्यान चुनावकेन्द्रित देखिन्छ । जसले गर्दा बेइमान प्रकृतिको अभिव्यक्ति छ्यालब्याल भएको देखिन्छ । बेइमान राजनीति गर्ने नेताहरूमा अन्तर्निहित नैतिक समस्या हुन्छ । तीन ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका नेताबाट विगत एक वर्षमा अभिव्यक्ति विचार मात्र सुन्ने हो भने नेताहरूभित्र अन्तर्निहित समस्या कति गहिरो छ भन्ने कुरा स्पष्ट महसुस गर्न सकिन्छ । गालीगलौज त सामान्य नै भए तर सत्तामा रहेका बेला जुनसुकै दल एमसीसीको पक्षमा रहेको देखिए पनि सत्तामा नरहँदा उनीहरूले नै समर्थन नगरेको देखिएको छ । नकारात्मक अभियान राजनीतिमा सर्वथा खराब भने होइन, आरोप या घटना तथ्यमा आधारित या सही छ भने तर झुटको सहारा लिएर भाषण गर्दा लोकतन्त्रलाई कमजोर बनाउँछ । अनुसन्धान अनुसार तथ्य र विचारको बीच अन्तर हुन्छ । विचार गलत निर्णय र गलत सूचनाको आधारमा पनि बन्छ तर तथ्य सत्य हुन्छ । झुट विचारलाई स्थापित गराउँदैमा सत्य असत्य हुँदैन । (८ग) दलका नेताहरूको नैतिकमामाथि प्रश्न उठ्ने अर्को कारण राजनीतिमा पैसाको अत्यधिक चलखेल भएकोले गर्दा पनि हो । पैसाले चुनावको परिणामलाई प्रभावित गर्न खोजेको विगतमा देखियो भने कतिपय अवस्थामा विशेष गरेर मनोनीत सदस्यहरूले मैले दललाई यति पैसा दिएर पद प्राप्त गरेको हुँ भन्ने सार्वजनिक अभिव्यक्तिसमेत आएको र दलहरूले पैसामा सिट बेचेको कुरा सञ्चार माध्यममा आउनुले शीर्ष नेताहरूको नैतिकतामाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो । राजनीतिमा झुट बोल्ने प्रलोभन पक्षपाती स्वभावले आउने गर्छ । यसकारण नियमनकारी निकायहरू सावधान हुन जरुरी छ । अन्यथा राजनीतिप्रति नै मोहभङ्गको स्थिति देखा पर्नसक्छ । मतदातासँग नियमित संवाद गर्नुपर्छ । (८घ) राजनीतिमा नैतिकताको परिभाषा गर्न कठिन हुने विश्लेषकहरूको राय छ र यसैले यसलाई कतिपयले सार्वजनिक नैतिकता भन्नुपर्ने मत राखेका छन् । अभ्यास जस्तोसुकै भए पनि राजनीतिक नैतिकतालाई राजनीतिक कारबाहीका लागि नैतिक निर्णय लिने र त्यस्ता निर्णय लिन गरिने अम्यासको अध्ययनलाई राजनीतिक नैतिकता भन्ने गरिएको छ । (८ङ) राजनीतिक नैतिकताको उच्च मानक नेपालको सन्दर्भमा सार्वजनिक कार्यालयको नियन्त्रण गर्ने नियमसँग सम्बन्धित छ । मुख्य मुद्दा स्वार्थको बाझो परिभाषा अनुसार, यस्तो स्थिति जहाँ आधिकारिक व्यक्तिहरूको सार्वजनिक निर्णय उनीहरूको व्यक्तिगत रुचिबाट प्रभावित हुन्छ । टेबलमुनिबाट खाम अनि काम, पैरवी, भाइभतिजावाद, बाय आय र सिट्ठी बजाउने धन्दा आदि देखिन्छ । अहिले स्थानीय तहका नेताका मात्र होइन राष्ट्रिय स्तरका अधिकांश नेताहरू व्यवसायमा संलग्न भएका छन् । अहिले हरेक स्थानीय तहका नेताहरूसँग सडक बनाउने उपकरणहरू छन् भन्दा पनि हुन्छ ।(८च) सरकार र नेताप्रति जनताको विश्वास बढाउन जरुरी छ र यसका लागि राजनेताहरूमा नैतिकता हुनुपर्छ । अहिलेसम्म नैतिकताको पाठ राष्ट्रसेवक कर्मचारीलाई मात्र सिकाउने प्रयास गरियो तर नेताहरूलाई नैतिकताको बारेमा पढाउने र अभ्यास गर्ने प्रयास गरिएन । राजनीतिक नेताहरूले एउटा छुट्टै विशिष्ट तरिकाले काम गर्नुपर्छ । नेपालका नेताहरूले अब राजनीतिक मुद्दा उठाउन आवश्यक छैन भन्ने गरेको पनि सुनिन्छ तर नेपालमा राजनीतिक विकासको मुद्दा आवश्यक छ । क्रमशः

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *