देउवा र नेपालबीच भेट, सत्ता समीकरणमा तरंग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । कांग्रेसका सभापति देउवा र अध्यक्ष नेपालबीच भएको उक्त भेटघाटपछि सत्ता समीकरणमा तरंग ल्याएको छ ।

नेपाली कांग्रेसका नेता डा.नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको खबर आएको छ । छलफलमा सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो । सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ ।

नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय एकीकृत समाजवादीले गरेको छ । सोडारीका पक्षमा भने एमाले देखिएको छैन । एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडी सार्ने निर्णय गरेको थियो ।

  • वैकल्पिक गठबन्धन बनाउने बिषयमा खुलेर छलफल

उक्त भेटमा वैकल्पिक गठबन्धन बनाउने बिषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरु बनाउने विषयमा छलफल भएको र कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको खबर आएको छ । नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफू तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले आज (बिहीबार) बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *