१५ वैशाखदेखि सहाना प्रधान स्मृति महिला हक्की

काठमाडौं । नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता १५ वैशाखदेखि हुने भएको छ । १९ वैशाखसम्म हुने प्रतियोगितामा काभ्रेको धुलिखेल नगरपालिकास्थित धुलिखेल खेलकुद मैदानमा आयोजना हुने संघले जानकारी गराएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने र दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १०,१० हजार तथा हरेक खेलको प्लेअर अफ दि म्याचले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।

हक्की खेललाई स्कुल स्तरबाटै विकास गर्ने लक्ष्यसहित नयाँ शैक्षिक सत्रबाट स्कुलहरुमा पनि हक्कीको खेल सामग्री दिएर खेलाडीहरु उत्पादनमा लाग्ने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिता पहिलो पटक धुलिखेलमा हुन लागेको लागेको हो । प्रतियोगिताकै दौरान एसियन हक्की महासंघको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि सञ्चालन गरिने संघका अध्यक्ष शर्माले जानकारी दिए । जसमा हरेक प्रदेशबाट महिला र पुरुष गरी कम्तीमा दुई जना सहभागी गराउने संघको योजना रहेको छ । हक्की संघले धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको हक्की स्टेडियम बनाउने तयारी गरेको छ । हक्की स्टेडियम तथा प्रशिक्षण केन्द्रका लागि धुलिखेल नगरपालिकाको आफ्नै पालिकाको वडा नम्बर १२ मा रहेको खेल मैदान संघलाई उपलब्ध गराइसकेको छ । यस्तै प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको र त्यसको काम अन्तिम चरणमा पुगेको संघका अध्यक्ष अनिल शर्माले दिए । ५० रोपनी भन्दा बढी जग्गा रहेको उक्त स्थानमा तीन चरणमा हक्की स्टेडियम निर्णाण गरिने शर्माले जानकारी दिए । ‘पहिलो चरणमा मैदान निर्माण गर्ने, दोस्रो चरणमा प्यारापिट बनाउने र तेस्रो चरणमा हवस्टेल बनाउने योजना छ,’ शर्माले भने, ‘सोचे अनुसार काम भएमा र आर्थिक सहयोग पाएमा तीन वर्षमा काम सकिनेछ । हामीले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकारदेखि बाहिर एसिया हक्की र वर्ल्ड हक्कीसँग पनि सहयोगका लागि प्रस्ताव गरेका छौँ । शर्माले पहिलो चरणमा करिब २२ करोड लाग्ने र हक्की स्टेडियम पूरा निर्माणको लागि करिब ९० करोड रुपैयाँ बजेट लाग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *