हाफ म्याराथन र रोड रेस ३ जेठमा

बुटवलमा जेठ ३ गते राष्ट्रियस्तरको खुल्ला हाफ म्याराथन र रोड रेस राष्ट्रिय खुला प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा २१ किलोमिटरको हाफ म्याराथनसहित ४ प्रकारका दौड प्रतियोगिता हुने भएको हो । जसमा हाफ म्याराथन पुरुषबीच खुल्ला प्रतिस्पर्धा हुने तथा छात्रतर्फ १० किलोमिटर (कलेजस्तरीय खुल्ला), छात्रतर्फ ५ किलोमिटर (विद्यालयस्तरीय) तथा छात्रातर्फ ३ किलोमिटर दौड (विद्यालयस्तरीय) हुने एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए । ‘विद्यालयदेखि कलेजस्तरका एथ्लेटिक्स खेलाडीहरुलाई प्रोत्साहन गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेका हौं । प्रतियोगितामा उत्कृष्ट १५ खेलाडीलाई पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रोले ५० हजार, चौथौले ३० हजार, पाचौंले २० हजार, छैटांैले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा पहिलो हुनेले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाचौंले ७ हजार र छैटौंले ५ हजार रुपैयाँ पुरस्कार पाउने एकेडेमीका सचिवालय सदस्य विनोद आचार्यले बताए । यसैगरी छात्रहरुको विद्यालयस्तरीय ५ किलोमिटर दौडमा पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १२ हजार, चौथोले १० हजार, पाचौंले ७ हजार र छैटौंले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । छात्राहरुको विद्यालयस्तरीय ३ किलोमिटर दौडमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ७ हजार, चौथोले ५ हजार, पाचौंले ३ हजार छैटौंले २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता उद्घाटनका क्रममा मुटुको शल्यक्रिया गरेका ओलम्पिक धावक वैकुण्ठ मानन्धरलाई मासिक ४ हजार रुपैयाँका दरले दुई वर्षसम्म रकम प्रदान गर्ने सम्झौता गरिने सचिवालय सदस्य आचार्यले बताए । प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेले एकेडेमीले बुद्ध जन्मस्थल लुम्बिनीपछि दोस्रो म्याराथन बुटवलमा गर्न लागेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *