कतारी अमिरको नेपाल भ्रमण- स्वागतद्धार देखि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । आज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा) को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा स्वागतद्धार देखि सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदैछन्। उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ। सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ ।

कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५/१५ मिनेट स्थगित गरिने भएको छ । कतारका अमिरको आजदेखि हुने भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । दुई दिने भ्रमणका लागि आउन लागेका उनलाई अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *