बागलुङमा ३८ वनमा डढेलो : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण डढेलो लाग्याे । सो डढेलो गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा डढेलो लागेकाे थिएन ।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा डढेलो लागिसकेको छ । दिनप्रति दिन डढेलो लाग्दै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । डढेलोले वन्यजन्तु तितरवितर बनेका छन् । डढेलोका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा डढेलो लागेकाे डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिए ।

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर रहेको केसीले जानकारी दिए । हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा डढेलो लागेको उनी बताउँछन् । अधिकारी केसीले भने, ‘नागरिकको लापरबाहीका कारण धेरै वनमा डढेलो लागेको हो, डढेलो रोक्नका लागि हामीहरुले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा डढेलोलगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, डढेलोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पुर्‍याएको छ ।’

चार दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको डढेलो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताए । डढेलो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ । वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको डढेलो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताउँछन् ।

‘खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको डढेलो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ’, अध्यक्ष पौडेलले भने, ‘डढेलोकसले लगाएको हो भन्ने पत्ता लागेको छैन, वर्षा पनि भएको छैन, माटो पनि बल्छ, सयौँको संख्यामा मान्छे छन्, दिउँसोमा हावाहुरीले गर्दा निभाउन सकिँदैन, राति १ बजेसम्म जनता उठेर नियन्त्रण लिने कोसिस गरे पनि अझै सकिएको छैन ।’

डढेलो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए । शुक्रबार साँझदेखिनै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा डढेलो निभाउने प्रयास गरेको उनको भनाइ छ । सडकभन्दा निकै टाढाको वनमा डढेलो हुँदा दमकलको प्रयोग समेत गर्न नसकिएको घर्ती बताउँछन् । आफूहरु रातभर जागराम बसेर डढेलो नियन्त्रणमा लागेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *