नेपाल रिमा लगानी बढाउँदै हिमालयन र एशियन लाइफ

काठमाडौं । पुँजी बजारमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को सेयर सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको ६३ करोड रुपैयाँ बढीको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बुधबार कम्पनीको २२ लाख ६० हजार ८ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोड ३० लाख ९३ हजार २५८.५० रुपैयाँ बराबरको कारोबार भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बुधबार नेप्सेमा कारोबार भएको स्रोतले बताएको छ । स्रोतका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । सिद्धार्थ प्रिमियरले प्रतिकित्ता २८० रुपैयाँका दरले २० लाख ७३ हजार ४ सय ४६ कित्ता सेयर बिक्रीमा राखेको थियो । सोही मूल्यमा उक्त सेयर हिमालयन लाइफले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर हिमालयन लाइफले ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँमा खरिद गरेको हो ।

यस्तै, ग्लोबल आइएमई क्यापिटलपनि प्रतिकित्ता २८० रुपैयाँका दरले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर प्रतिकित्ता २८०.२५ रुपैयाँका दरले एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर कम्पनीले ५ करोड २५ लाख २८ हजार ३८७.५ रुपैयाँमा खरिद गरेको हो । यसअघि गत मंसिरमा पनि हिलमायन लाइफ र एशियन लाइफले नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर खरिद गरेका थिए । हिमालयन लाइफले प्रतिकित्ता ३ सय रुपैयाँका दरले १९ लाख ७९ हजार २४२ कित्ता सेयर ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको थियो । यस्तै, एशियन लाइफले छुट्टाछुट्टै मूल्यमा १० लाख कित्ता सेयर २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँमा खरिद गरेको थियो ।

पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू रिइन्स्योरेन्स कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् भने हिमालयन र एशियनले उक्त सेयर खरिद गरिरहेका छन् । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमारलाल कर्ण लगानी गर्ने अन्य क्षेत्र नभएपछि नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गरेको बताउँछन् । बैंकको ब्याजदर निरन्तर रूपमा घट्दोक्रममा रहेकाले रिइन्स्योरेन्सको सेयर खरिद गरेको उनको भनाइ छ । ‘लगानी कहाँ गर्ने ?, बैंकको ब्याजदर घटिरहेको छ । नेपाल रिको सेयर खरिद गर्यो भने पछिका दिनमा काम लागि हाल्छ,’ उनले भने, ‘हामीसँग ६५ अर्ब रुपैयाँ पुगिसक्यो । साढे ६ अर्ब लगानी गर्नुपर्छ । नेपाल रिससहित अन्य कम्पनीमा पनि लगानी गरेका छौं । नेपाल रिमा दीर्घकालमा फाइदा भएकाले लगानी गरेका हौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *