आर्थिक उन्नति र सामाजिक न्याय स्थापना गर्न सहकारीको भूमिका महत्वपूर्णः अध्यक्ष मल्ल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले नेपालको संविधानले सहकारीमार्फत समाजवादमा पुग्ने लक्ष्य लिएको बताएकी छिन् । जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृषि मन्त्रालयको संयुक्त आयोजनामा आइतबारबाट सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा बोल्दै उनले सहकारीले सबै क्षेत्र र तहका मानिसहरूलाइ आवद्ध गराइ आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गरिन् । महासंघकी अध्यक्ष मल्लले सहकारी समुन्थान सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान ग्लोबल बोर्ड सदस्य समेत रहेकी अध्यक्ष मल्लले १० बर्षे सशस्त्र द्वन्द्व, महाभुकम्पलगायतका अप्ठ्यारो परिस्थितिमा समेत सहकारीले महत्वपूर्ण भूमिका खेलेका कारण ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान भएको जानकारी गराइन् । दशवर्षे सशस्त्र द्वन्द्वका समयमा समेत सहकारीले ग्रामीण क्षेत्रमा पुँजी संकलन र परिचालन गरी सदस्यहरूबीचमा वित्तीय पहुँच पुर्‍याएको उनले जनाइन् । संविधानमा नै सहकारीलाई समावेश गरेका कारण नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका बृद्धि भइरहेको बताइन् । नेपालको संविधानमा नै सहकारीलाई सम्बोधन गरेको विषयलाई अन्य मुलुकले समेत विशेष रुपमा हेरेका छन् । ‘संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारीकर्मी र सरकारले हातेमालो गरेर अगाडि बढेको खण्डमा नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ ’ उनले भनिन ।

उनले सहकारीले लघु तथा साना उद्यममार्फत सदस्यहरूमा दीगो रोजगारीको अवसर सिर्जना गरेको उल्लेख गरिन् । सहकारी मोडल अगाडि बढाएका राष्ट्रहरूमा विश्वमा आएको आर्थिक मन्दीका समयमा समेत अर्थतन्त्र चलायमान भएको अध्ययनहरूले देखाएको भन्दै मल्लले नेपालले पनि सहकारीले आर्थिक उन्नतिका साथै सामाजिक न्याय स्थापना गर्न टेवा पुर्याउँदै आएको बताइन् । सहकारी सदस्य केन्द्रित व्यवसाय भएको र उनीहरूले नै सबै कुराको निर्णय गर्नसक्ने भन्दै सदस्यबीचको सहकार्य नै यसको शक्ति भएको उनले उल्लेख गरिन् । अर्थतन्त्रको तीनमध्ये एउटा खम्बाको रूपमा सहकारीलाइ लिइएको र समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न राज्यका तर्फबाट नीतिगत तथा व्यवहारिक सहयोग प्राप्त भएको उनले उल्लेख गरिन् । कार्यक्रममा नेपालबाट सहकारीमन्त्री बलराम अधिकारी, सचिव गोकर्णमणि दुवाडी, मन्त्रालयका सहकारी महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटा र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी रहेका छन् । ३० अप्रिलसम्म हुने सम्मेलन सरकार र सहकारी बीचको साझेदारीको महत्वलाई वकालत गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा रहेको मल्लले बताइन् । एसिया प्रसान्त, मध्य पुर्वी एसिया र उत्तर अफ्रिकाको सहकारी समुत्थान, दिगो विकास र समावेशी विकासका लागि सरकार र सहकारीको साझेदारीतालाई बढवा दिने सम्मेलनको थिम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *