सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान: अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् ।

इलाम–२ बाट निर्वाचित सुहाङ नेम्बाङको विजयी सभालाई सम्बोधन गर्दै ओली जात र थरलाई पहिचान बनाउन नहुने बताएका हुन् । ओलीले भने, ‘पहिचान भनेको के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ । त्यही पहिचान हो । धनी भए धनी नेपाली । गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली । पढ्न पायौं भने विद्वान नेपाली, पाएनौं भने बुद्धु नेपाली । कस्तो पहिचान ?’

उनले व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल नहुने दावी गरे । ‘समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन’ ओलीले भने, ‘जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ यो धेरै ठूलो कुरा होइन ।’

ओलीले प्रदेशको नाम साझा राख्दा केही नबिग्रिँने बताउँदै भने, ‘हामी सयौं थुंगा फुलका एउटै माला हौं । इलाममा सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *